अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पदभार ग्रहण गर्दै पुनले भने- तीन वर्षमै मन्त्रालयको बलियो जग बसालेर युवालाई जिम्मेवारी सुम्पिन्छु

पदभार ग्रहण गर्दै पुनले भने- तीन वर्षमै मन्त्रालयको बलियो जग बसालेर युवालाई जिम्मेवारी सुम्पिन्छु


काठमाडौँ-विज्ञान प्रविधि तथा नवप्रवर्द्धन मन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन्। मंगलबार राष्ट्रपति रामचन्द्र पाैडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए। शपथ ग्रहण लगत्तै मन्त्रालय पुगेर पुनले पदभार ग्रहण गरेका हुन्। 

मन्त्री पुनले पदभार ग्रहण गर्दै विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रको विकासका लागि द्रुत गतिमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। मन्त्री पुनले मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आफू दिनरात नभनी काममा खटिने बताए।

उनले विज्ञान र प्रविधिको क्षेत्रमा ढिलासुस्ती स्वीकार्य नहुने उल्लेख गरे। ‘यो विज्ञान–प्रविधिको विकासका लागि ढिलो–ढिलो हिँडेर गन्तव्यमा पुगिँदैन। एकदम द्रुत गतिमा रात–दिन काम गरेर अगाडि बढ्नुपर्छ,’ उनले भने।

मन्त्री पुनले सरकारको कार्यकाल पाँच वर्षको भए पनि आफू बढीमा तीन वर्ष मात्रै मन्त्रालयको जिम्मेवारीमा रहने घोषणा गरे। ‘यो सरकार पाँच वर्षको हो। तर म बढीमा तीन वर्ष बस्ने यहाँ घोषणा गर्छु। यो अवधिमा सकेसम्म धेरै काम गरेर मन्त्रालयको बलियो आधार तयार पार्ने मेरो लक्ष्य छ,’ उनले बताए।

उनले तीन वर्षभित्र मन्त्रालयमा राम्रो प्रणाली र कार्यसंस्कृतिको जग बसालेर नयाँ पुस्ताका युवा नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्ने योजना रहेको बताए। ‘मैले अब जे जति गर्न सकिन्छ, रात–दिन काम गरेर मन्त्रालयलाई परिणाममुखी बनाउने प्रयास गर्नेछु। त्यसपछि सक्षम युवा नेताहरूलाई जिम्मेवारी हस्तान्तरण गर्न चाहन्छु,’ उनले भने।

मन्त्री पुनले नवप्रवर्तन, अनुसन्धान, प्रविधि विकास तथा डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राखेर काम गर्ने संकेत पनि दिएका छन्।

Skip This