काठमाडौं-बैंकिङ्ग समाचारका प्रबन्ध निर्देशक राजु ढुंगेलले नेपालकाे वित्तीय क्षेत्रलाई थप सक्षम, प्रतिस्पर्धी र उत्तरदायी बनाउन नीति निर्माता, नियामक, बैंकिङ्ग क्षेत्र, व्यवसायी तथा विज्ञहरूबीच खुला संवाद र सहकार्य आवश्यक रहेको बताएका छन्।
काठमाडौंको म्यारियट होटलमा आयोजित चौथो नेशनल बैंकिङ्ग डिस्कोर्स-२०२६ लाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक ढुंगेलले मिडिया र बैंकबीचको सम्बन्धमा मात्र सीमित नभई समग्र वित्तीय इकोसिस्टमलाई टेवा पुग्ने बताएका हुन्।
उनले नीति निर्माता, नियामक, बैंकर, व्यवसायी, विकास साझेदार र विज्ञहरूबीच हुने खुला संवादले समस्याको पहिचान मात्र नभई समाधानका सम्भावित मार्गसमेत प्रस्तुत गर्ने विश्वास व्यक्त गरे। यस्ता संवाद र सहकार्यको संस्कृतिले नेपालको वित्तीय क्षेत्रलाई अझ प्रभावकारी बनाउन मद्दत पुग्ने उनको भनाइ थियो।
प्रबन्ध निर्देशक ढुंगेलले चार वर्षअघि सुरु गरिएको नेशनल बैंकिङ्ग डिस्कोर्स अहिले बैंकिङ्ग तथा आर्थिक क्षेत्रको महत्वपूर्ण बौद्धिक मञ्चका रूपमा स्थापित भइसकेको दाबी गरे। विगतका संस्करणहरूमा उठाइएका विषयहरूले राष्ट्रिय बहसलाई दिशा दिनुका साथै नीति निर्माण प्रक्रियामा समेत सकारात्मक प्रभाव पारेको उनले बताए।
प्रबन्ध निर्देशक ढुंगेलले आगामी दिनमा पनि वित्तीय क्षेत्रका चुनौती र अवसरबारे सार्थक बहसलाई निरन्तरता दिँदै नीति संवादलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।






प्रतिक्रिया