अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बसुन्धाराको गार्मेन्टमा भीषण आगलागी, ८ करोड रुपैयाँ बराबरको क्षति

बसुन्धाराको गार्मेन्टमा भीषण आगलागी, ८ करोड रुपैयाँ बराबरको क्षति


काठमाडौं-काठमाडौंको टोखा नगरपालिका–५ बसुन्धारास्थित सिद्ध बाबा इन्टरप्राइजेज (कपडा गार्मेन्ट) मा बुधबार बिहान भएको भीषण आगलागीबाट करिब ८ करोड रुपैयाँ बराबरको क्षति भएको छ।

प्रहरीका अनुसार बिहान २ः५२ बजे विद्युत् सर्ट भएर आगलागी सुरु भएको थियो। आगो नियन्त्रणका लागि नेपाली सेना, नं. १ विपद् व्यवस्थापन गण, नरसिंहदल गणसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीयवासी तथा विभिन्न स्थानीय तहका दमकल परिचालन गरिएको थियो।

काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका, भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका, कागेश्वरी मनहरा नगरपालिका, चन्द्रागिरि नगरपालिका तथा जुद्ध वारुण यन्त्र र वसन्तपुरका दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

आगलागीबाट सिद्ध बाबा इन्टरप्राइजेज पूर्ण रूपमा नष्ट भएको छ। साथै नजिकै रहेका अन्नपूर्ण किराना स्टोर र प्रतिक्षा इलेक्ट्रोनिक्समा समेत क्षति पुगेको छ। लुम्बिनी खाजा घर, क्यापिटल इन्टरनेशनल मेनपावर तथा आसपासका दुई घरमा आंशिक क्षति भएको प्रहरीले जनाएको छ।

घटनामा कुनै मानवीय क्षति नभएको जनाइएको छ। आगलागीको कारण, क्षतिको यथार्थ विवरण तथा अन्य पक्षबारे सम्बन्धित निकायबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Skip This