अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन हुनुपर्छ: रामकुमारी झाँक्री

अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन हुनुपर्छ: रामकुमारी झाँक्री


काठमाडौं-राष्ट्रियसभा सदस्य तथा नेकपा (एमाले) नेतृ रामकुमारी झाँक्रीले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले माथि उठेका आरोपहरूको निष्पक्ष छानबिन संसद वा संसदले गठन गरेको स्वतन्त्र समितिबाट हुनुपर्ने बताएकी छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै झाँक्रीले आरोप लागेको व्यक्तिले आफैं छानबिन गराउनु उचित नहुने भन्दै निष्पक्ष र विश्वसनीय अनुसन्धानको माग गरेकी हुन्। उनले आफूविरुद्ध प्रश्न उठेको अवस्थामा सम्बन्धित व्यक्तिले होइन, स्वतन्त्र निकायले छानबिन गर्नुपर्ने धारणा व्यक्त गरेकी छन्।

झाँक्रीले अर्थमन्त्रीमाथि लागेको आरोपको छानबिन संसद वा संसदबाट गठित समितिमार्फत मात्र सम्भव हुने उल्लेख गर्दै आवश्यक प्रक्रिया अघि बढाउन आग्रह गरेकी छन्।

उनले वाग्ले विगतमा योजना आयोगको सदस्य तथा उपाध्यक्षका रूपमा राज्य संयन्त्रभित्र रहेर काम गरेको स्मरण गराउँदै बजेट तथा आर्थिक नीतिका विषयमा विपक्षमा रहँदा पटक–पटक प्रश्न उठाउने व्यक्तित्व रहेको उल्लेख गरेकी छन्।

झाँक्रीले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘हिजो जे–जे बेथिति थिए भन्नुहुन्छ, तपाईं पावर पोलिटिक्सको नजिक र राज्य संयन्त्रमै हुँदा योजना आयोगको सदस्य र उपाध्यक्ष हुँदै त्यो प्रणालीभित्रको चलायमान र जान्ने खेलाडी हुनुहुन्थ्यो।’

विपक्षी भूमिकामा रहँदा वाग्लेले बजेट र आर्थिक विषयमा गरेका टिप्पणी तथा अभिव्यक्तिहरू सार्वजनिक रूपमा उपलब्ध रहेको उल्लेख गर्दै उनले अहिले उठेका प्रश्नहरूलाई सामान्यीकरण गर्न नमिल्ने बताएकी छन्।

‘अरू कसैले गरेको आर्थिक अपराध, संगठित अपराध वा प्रणाली खरिद गरेको मानिने, तर तपाईं अर्थमन्त्रीको हैसियतले गरेको कामलाई ‘नयाँ’ को नाममा सामान्यीकरण गर्न मिल्दैन,’ झाँक्रीले उल्लेख गरेकी छन्।

उनले अर्थमन्त्रीमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्नेमा जोड दिएकी छन्।

Skip This