काठमाडौं-नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले बैंकहरूको ब्याजदर घटे पनि अर्थतन्त्रमा अपेक्षित रूपमा उपभोग वृद्धि हुन नसकेको बताएका छन्।
बैंकिङ्ग समाचारद्वारा आयोजित चौथो नेशनल बैंकिङ्ग डिश्कोर्स २०२६ अन्तर्गत ‘कहिलेसम्म थुपार्ने बैंकमा पैसा : कसरी बढाउन सकिन्छ व्यवसायीको मनोबल ?’ विषयक पहिलो सत्रमा बोल्दै ज्ञवालीले ब्याजदर उच्च हुँदा त्यसकै कारण बजार चलायमान हुन नसकेको चर्चा हुने गरे पनि अहिले ब्याजदर घट्दा समेत सुधार नदेखिएको बताए।
‘हामी छिट्टै आतिने र मातिने समाजमा छौं। ब्याजदर बढेका बेला त्यसैले बजार चलेन भनियो, तर अहिले ब्याजदर घट्दा पनि अपेक्षित सुधार देखिएको छैन। उपभोग अझै कमजोर छ,’ उनले भने।
सीईओ ज्ञवालीले दक्षिण एसियाली क्षेत्रको तुलनामा नेपालको बैंकिङ्ग क्षेत्र अपेक्षाकृत व्यवस्थित, नवप्रवर्तनशील र सुशासित रहेको दाबी गरे। उनले नेपाल राष्ट्र बैंकजस्तो प्रभावकारी नियामक निकाय अन्य क्षेत्रमा पनि भए समग्र अर्थतन्त्रमा सुधार आउन सक्ने धारणा राखे।
सीईओ ज्ञवालीले हाल देशमा ठूलो परिमाणमा रेमिट्यान्स भित्रिए पनि अधिकांश उपभोक्ता तथा श्रमशक्ति विदेशमा रहेकाले आन्तरिक माग प्रभावित भएको बताए। ‘बैंकहरू ऋण दिन तयार छन्। ग्राहकलाई चाहिने सेवा र उत्पादन उपलब्ध गराउन बैंक सक्षम छन्। तर समस्या उपभोगमा छ, जसको मुख्य कारण बढ्दो आप्रवासन हो,’ उनले भने।
व्यवसायी र बैंकका अधिकारीमाथि भइरहेको कारबाहीप्रति पनि उनले टिप्पणी गर्दै वित्तीय अपराध र फौजदारी अपराधलाई फरक ढंगले हेर्नुपर्ने बताए। ‘कसैले वित्तीय अपराध गरेको छ भने कानुनअनुसार कडा जरिवाना र कारबाही हुनुपर्छ। तर फौजदारी र वित्तीय अपराधलाई एउटै दृष्टिकोणबाट हेर्नु उपयुक्त हुँदैन,’ उनले भने।
सीईओ ज्ञवालीले निजी क्षेत्रको मनोबल वृद्धि गर्न राज्यले सकारात्मक वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए। ‘अर्थतन्त्रमा केही पनि बिग्रिएको छैन। निजी क्षेत्रलाई विश्वास दिलाउने र लगानीमैत्री वातावरण बनाउने काम राज्यको हो,’ उनले भने।
उनले विदेशमा रहेका नेपालीहरू स्वदेश फर्किन इच्छुक रहेको उल्लेख गर्दै उनीहरूलाई फर्केर लगानी र रोजगारी सिर्जना गर्ने वातावरण तयार पार्न सरकार अग्रसर हुनुपर्ने बताए।






प्रतिक्रिया