काठमाडौँ-जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमतिबिना सार्वजनिक स्थलमा ठुलो पर्दा राखेर फिफा विश्वकप फुटबल २०२६ का खेलहरू प्रदर्शन गर्न रोक लगाएको छ।
बिहीबारदेखि सुरु हुन लागेको विश्वकपका खेलहरू सामूहिक रूपमा प्रत्यक्ष प्रसारण गर्न चाहने सङ्घ-संस्था तथा कम्पनीहरूले अनिवार्य रूपमा जिल्ला प्रशासन कार्यालयबाट पूर्व स्वीकृति लिनुपर्ने प्रशासनले जनाएको छ।
बिहीबार जारी गरिएको सूचनामा रातिको समयमा ठुलो पर्दामार्फत खेल देखाउने नाममा भीडभाड गरी समुदायमा असर पर्ने तथा शान्ति सुरक्षा खलबल्याउने गतिविधि नगर्न सचेत गराइएको छ।
प्रशासनका अनुसार प्रत्यक्ष प्रसारण गर्न इच्छुक सङ्घ-संस्थाले निर्धारित ढाँचामा निवेदन पेश गर्नुपर्नेछ। निवेदनको ढाँचा जिल्ला प्रशासन कार्यालय काठमाडौँको आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिने जनाइएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी तथा कार्यालयका प्रवक्ता मुक्तिराम रिजालका अनुसार प्राप्त निवेदनको सम्बन्धित स्थान र सुरक्षा संवेदनशीलताको मूल्याङ्कन गरी मात्र अनुमति प्रदान गरिनेछ।
प्रशासनले सूचनाको अवज्ञा गर्दै अनुमतिबेगर रातिको समयमा भिडभाड गर्ने, अमर्यादित, उच्छृङ्खल वा गैरकानुनी गतिविधि सञ्चालन गरेको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी समेत दिएको छ।







प्रतिक्रिया