काठमाडौं- रेमिट्यान्स भित्र्याउने देशकै सबैभन्दा ठुलो कम्पनी आइएमई लिमिटेड स्थापनाको २६ वर्ष भएको छ । स्थापना दिवसको अवसरमा आइएमई लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले शुभकामना सन्देश जारी गर्दै रेमिट्यान्सलाई औपचारिक माध्यमबाट भित्र्याउने तथा त्यसलाई उत्पादनशील क्षेत्रमा परिचालन गरी राष्ट्रिय अर्थतन्त्रलाई थप गतिशील बनाउन प्रतिबद्ध रहेको बताएका छन्।
अध्यक्ष ढकालले नेपाल सरकार, नेपाल राष्ट्र बैंक, नियामक निकायहरू, ग्राहक, साझेदार संस्था, बैंक तथा वित्तीय संस्था, कर्मचारी र सम्पूर्ण नेपालीप्रति कृतज्ञता व्यक्त गर्दै आइएमईप्रति गरिएको विश्वास नै संस्थाको सफलताको आधार भएको उल्लेख गरेका छन्।
उनले विश्वका विभिन्न मुलुकमा श्रम गरिरहेका लाखौँ नेपाली श्रमिकप्रति विशेष सम्मान व्यक्त गर्दै उनीहरूको पसिना र योगदान नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधारस्तम्भ भएको बताए। श्रमिकहरूले आफ्नो मेहनतको कमाइ सुरक्षित रूपमा स्वदेश पठाउन आइएमईमाथि गरेको विश्वास नै संस्थाको सबैभन्दा ठूलो पूँजी र प्रेरणा भएको उनको भनाइ छ।
अध्यक्ष ढकालले ‘रेमिट भनेकै आइएमई र आइएमई भनेकै रेमिट’ भन्ने पहिचान स्थापित हुनु गौरवको विषय भए पनि यससँगै जिम्मेवारी थपिएको उल्लेख गरेका छन्। उनले विप्रेषणलाई औपचारिक प्रणालीमार्फत भित्र्याउने, विदेशी मुद्रा सञ्चिति सुदृढ बनाउन सहयोग गर्ने तथा रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा प्रवाह गर्न सरकारसँग सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
सन्देशमा उनले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भोग्ने कठिनाइप्रति सम्मान व्यक्त गर्दै रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन आवश्यक नीतिगत तथा संरचनागत सुधारमा सरकारको ध्यान जानुपर्ने बताएका छन्।
अध्यक्ष ढकालले आइएमई ग्रुपले उद्योग, पर्यटन, बैंकिङ, जलविद्युत, पूर्वाधार तथा सूचना प्रविधिलगायत विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै उत्पादन, रोजगारी, राजस्व र उद्यमशीलता प्रवर्द्धनमार्फत मुलुकको आर्थिक रूपान्तरणमा योगदान पुर्याउँदै आएको पनि उल्लेख गरेका छन्।
उनले युवाहरूका लागि स्वदेशमै अवसर सिर्जना गर्ने, निजी क्षेत्रको क्षमता अभिवृद्धि गर्ने तथा समृद्ध नेपालको यात्रामा सरकारसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता दोहोर्याउँदै आगामी दिनमा पनि आइएमई नेपालीहरूको विश्वासको केन्द्र, वित्तीय समावेशीकरणको अग्रदूत र राष्ट्रको आर्थिक समृद्धिको साझेदारका रूपमा सक्रिय रहने बताएका छन्।






प्रतिक्रिया