काठमाडौं-नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसले सरकारमाथि थप गम्भीर प्रश्न उठाएको बताएका छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै नेता ज्ञवालीले अर्थमन्त्रीको आलोचना गर्ने सञ्चारमाध्यमलाई ‘खोस्टा’ भन्न नमिल्ने उल्लेख गरेका छन्। नेता ज्ञवालीले केही सीमित कमजोरी भए पनि सञ्चारमाध्यम लोकतन्त्रका पहरेदार भएको बताएका छन्।
नेता ज्ञवालीले अर्थमन्त्रीमाथि आर्थिक विधेयकमा गरिएको ‘पेज सेटिङ’ का कारण मात्र नभई संसद्को अवमूल्यन गर्दै ‘नीतिगत सेटिङ’ गरेको आरोपमा आलोचना भएको दाबी गरे। उनले मन्त्री वाग्लेले गरेको परिवर्तनले राजस्व संरचनामा ठूलो प्रभाव पारेको र त्यसको लाभ सीमित व्यक्ति वा घरानाले पाएको आरोप लगाए।
उनले अर्थमन्त्रीले आफूमाथि उठेका प्रश्नको तथ्यमा आधारित जवाफ दिनुको सट्टा व्यक्तिगत आरोप–प्रत्यारोपमा उत्रिएको टिप्पणी गरेका छन्। ज्ञवालीले पत्रकारहरूलाई ‘माइक्रोसफ्ट वर्ड चलाउन नजानेका’ भन्दै उपहास गरिएको र आलोचक सांसदहरूलाई धम्कीपूर्ण शैलीमा प्रस्तुत भएको आरोप लगाए।
‘त्यस्तो कैफियत भएका कोही छन् भने कानुनसम्मत कारबाही गर्न कसले रोकेको छ र ?’ भन्दै उनले प्रश्न गरेका छन्।
नेता ज्ञवालीले अर्थमन्त्रीको यस्तो उत्तेजित अभिव्यक्तिले विवाद झन् बढाउने र उनीप्रति थप गम्भीर आशंका उत्पन्न गर्ने बताएका छन्। उनले सार्वजनिक रूपमा उठेका प्रश्नको स्पष्ट र तथ्यपरक जवाफ दिन सरकार जिम्मेवार हुनुपर्ने धारणा पनि व्यक्त गरेका छन्।
नेता प्रदीप ज्ञवालीकाे भनाइ
तपाईँको आलोचनामा सामग्री प्रस्तुत गर्ने मिडियाहरू ‘खोस्टाहरू’ होइनन् । कतिपय सीमाहरू होलान्, तर तिनीहरू लोकतन्त्रका पहरेदार हुन् ।
तपाईँले आर्थिक विधेयकमा ‘पेज सेटिङ’ गर्नु भयो भनेर होइन, संसदको अवमूल्यन गर्दै ‘नीतिगत सेटिङ’ गर्नुभयो भनेर आलोचना भएको हो । तपाईँले गर्नुभएको परिवर्तनले राजस्व संरचनामा ठुलो फरक पारेको छ, र यसको लाभग्राही सीमित व्यक्ति या घराना छन् ।
तर आफूबारे उठेका प्रश्नहरूको तथ्यसम्मत जवाफ दिनुको साटो तपाईँ त व्यक्तिगत आरोपमा उत्रिनु भएछ । पत्रकारहरूलाई ‘माइक्रोसफ्ट वर्ड’ चलाउन नजानेका भन्दै उपहास गर्नु भयो र आलोचक सांसदहरूलाई ‘तिम्रो ख़ैरियत छैन’ भन्ने शैलीमा धम्क्याउनु भयो ।
त्यस्तो कैफ़ियत भएका कोही छन् भने कानुन सम्मत् कारबाही गर्न कसले रोकेको छ र ?
तर यस्तो उत्तेजनाले त तपाईँप्रति झन् गंभीर प्रश्न खडा गर्छन्, होइन र ?






प्रतिक्रिया