अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन

काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन


काठमाडौं-काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा हिजो शुक्रबार भएको बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल प्रहरी प्रधान कार्यालयले ६ सदस्यीय छानबिन समिति गठन गरेको छ।

प्रहरी प्रधान कार्यालयले आज उक्त दुर्घटनाको छानबिन गर्न नेपाल प्रहरी प्रदेश कार्यालय, काभ्रेका प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

समितिको सदस्यमा जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी रविन विष्ट, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्था कार्यालय चितवनका डीएसपी गंगा सारु, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक दिनेश खरेल, इलाका प्रहरी कार्यालय देवीटार महाभारत काभ्रेपलाञ्चोकका प्रहरी हबल्दार बासुदेव खड्का  छन् ।

यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय,  काभ्रेपलाञ्चोकका प्रहरी वरिष्ठ नायव निरीक्षक टंक शिवाकोटी सदस्य सचिव रहेको समिति गठन भएको हो । समितिलाई दुर्घटनाको वास्तविक अवस्था, कारण तथा जिम्मेवार पक्षको पहिचान गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको प्रहरीले जनाएको छ।

उक्त दुर्घटनामा ८ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए। शुक्रबार नै प्रधानमन्त्री कार्यालयले घटनाबारे छानबिन समिति बनाउन निर्देशन दिएको थियो ।

Skip This