अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मधेस प्रदेश बजेट: ४१ अर्ब १३ करोड विनियोजन

मधेस प्रदेश बजेट: ४१ अर्ब १३ करोड विनियोजन


धनुषा-मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि रु.४१ अर्ब १३ करोड ८६ लाख बजेट सार्वजनिक गरेको छ।

प्रदेशसभाको आज बसेको बैठकमा अर्थमन्त्री युवराज भट्टराईले राजस्व तथा व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै सो बजेट घोषणा गर्नुभएको हो । मधेस प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि रु ४६ अर्ब ५८ करोडको बजेट ल्याएको थियो । आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरिएको बजेट गत वर्षको तुलनामा करिब १३ प्रतिशतले कम रहेको छ । स्रोतको सीमितता तथा खर्च व्यवस्थापनलाई ध्यानमा राख्दै बजेटको आकार घटाइएको सरकारको भनाइ छ ।

कूल बजेटमध्ये चालुतर्फ रु १४ अर्ब ६६ करोड अर्थात् ३५ दशमलव ६४ प्रतिशत र पुँजीगततर्फ रु २६ अर्ब ४७ करोड अर्थात् ६४ दशमलव ३६ प्रतिशत विनियोजन गरिएको छ । प्रदेश सरकारले विकास निर्माण तथा पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्दै पुँजीगत खर्चको हिस्सा बढाएको जनाएको छ ।

अर्थमन्त्री भट्टराईका अनुसार बजेट कार्यान्वयनका लागि आवश्यक स्रोत व्यवस्थापनमा आन्तरिक राजस्वबाट रु ११ अर्ब २२ करोड ७५ लाख सङ्कलन हुने अनुमान गरिएको छ । त्यस्तै राजस्व बाँडफाँटबाट रु १२ अर्ब ८३ करोड, वित्तीय समानीकरण अनुदानबाट रु नौ अर्ब ४९ करोड ५९ लाख तथा गत आवको नगद मौज्दातबाट रु छ अर्ब आठ करोड ५२ लाख परिचालन गरिनेछ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत उत्पादन वृद्धि, पूर्वाधार विकास, कृषि क्षेत्रको आधुनिकीकरण, स्वास्थ्य सेवाको विस्तार तथा सामाजिक सुरक्षालाई उच्च प्राथमिकतामा राखेको जनाएको छ । प्रस्तुत बजेटबाट आर्थिक गतिविधि विस्तार, रोजगारी सिर्जना तथा प्रदेशको समग्र विकासमा टेवा पुग्ने विश्वास सरकारले लिएको छ ।

Skip This