अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भीमफेदी दुर्घटनाका पीडितलाई उपचार खर्च र क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया अघि बढ्यो

भीमफेदी दुर्घटनाका पीडितलाई उपचार खर्च र क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया अघि बढ्यो


काठमाडौं-सरकारले मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनाका पीडितलाई उपचार खर्च, क्षतिपूर्ति तथा बिमा रकम यथाशीघ्र उपलब्ध गराउने प्रक्रिया अघि बढाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ तथा प्रचलित बिमा कानुनअनुसार घाइतेहरूको उपचार खर्च र मृतकका परिवारले पाउने क्षतिपूर्ति तथा बिमा रकम उपलब्ध गराउन सम्बन्धित सवारीधनी, यातायात व्यवसायी र बिमा कम्पनीसँग समन्वय भइरहेको जनाएको छ।

सरकारले दुर्घटनामा घाइते भएकाहरूको उपचारलाई उच्च प्राथमिकतामा राखेको पनि जनाएको छ। उपचाररत घाइतेहरूको स्वास्थ्योपचारमा कुनै कमी हुन नदिन सम्बन्धित अस्पताललाई आवश्यक निर्देशन दिइसकिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार घाइतेमध्ये तीन जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने बाँकी तीन जनाको चितवनस्थित मनकामना अस्पताल र ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।

यसैगरी दुर्घटनाको वास्तविक कारण पहिचान गरी आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझावसहितको प्रतिवेदन तयार गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दुर्घटनाका पीडित परिवारलाई आवश्यक सहयोग तथा सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको जनाएको छ। दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ।

काठमाडौँबाट सर्लाही जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको माइक्रोबस बिहीबार बिहान भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा अनियन्त्रित भई सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो।

उक्त दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए। छठ पर्व मनाउन घर फर्किने क्रममा दुर्घटनामा परी ज्यान गुमाउनेमध्ये १३ जना सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका र एक जना चालक कविलासी नगरपालिकाका बासिन्दा थिए।