काठमाडौं-नबिल इन्भेस्टमेन्ट बैंकिङले मंसिर ९ गतेदेखि नबिल ग्रोथ फन्ड निष्कासन गर्ने भएको छ। नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने यस योजनामार्फत १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाइ निष्कासन गर्न लागिएको हो।
कुल निष्कासन गरिने इकाइमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाइ कोष प्रवर्द्धक नबिल बैंक र योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङका लागि छुट्याइएको छ।
यसअन्तर्गत नबिल बैंकका लागि १ करोड ४० लाख इकाइ अर्थात् १४ प्रतिशत र नबिल इन्भेस्टमेन्ट बैंकिङका लागि १० लाख इकाइ अर्थात् १ प्रतिशत सुरक्षित गरिएको छ। बाँकी ८ करोड ५० लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिनेछ।
उक्त फन्डमा लगानी गर्न इच्छुक लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतम १ करोड इकाइसम्मका लागि आवेदन दिन सक्नेछन्। यस योजनामा मंसिर १४ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिसम्म मागअनुसार आवेदन नपरेमा निष्कासन अवधि मंसिर २३ गतेसम्म लम्बिनेछ।
यो योजना खरिद गर्न इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्थामार्फत मेरो सेयर प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।
यस योजनाको कोष प्रवर्द्धक नबिल बैंक रहेको छ भने योजना व्यवस्थापन तथा निष्कासन बिक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेस्टमेन्ट बैंकिङले लिएको छ।



प्रतिक्रिया