अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले जुनसुकै छानबिन सामना गर्न तयार छ: सांसद बराल

एमाले जुनसुकै छानबिन सामना गर्न तयार छ: सांसद बराल


काठमाडौँ-नेपाल कम्युनिस्ट पार्टी एमालेका सांसद गुरुप्रसाद बरालले सरकारको कार्यशैली, सीमा विवाद, बजेटमा गरिएको कर हेरफेर तथा सुशासनको अवस्थाप्रति कडा आलोचना गरेका छन्।

सोमबार सङ्घीय संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै सांसद बरालले देश सुशासन र विधिको शासनबाट मात्रै अगाडि बढ्न सक्ने उल्लेख गर्दै वर्तमान सरकार यी महत्त्वपूर्ण विषयहरूमा असफल भएको आरोप लगाए।

उनले परराष्ट्रमन्त्री शिशिर खनाल को हालैको भारत भ्रमणका क्रममा नेपाल–भारत सीमा समस्याबारे कुनै स्पष्ट धारणा सार्वजनिक नगरिएको भन्दै असन्तुष्टि व्यक्त गरे। साथै, परराष्ट्रमन्त्रीको चीन भ्रमणका क्रममा लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रसँग सम्बन्धित त्रिदेशीय बिन्दुको विषयमा ठोस छलफल हुनुपर्ने माग गरे।

सांसद बरालले अर्थमन्त्रीद्वारा बजेटमार्फत करका दरमा गरिएको हेरफेरलाई केही सीमित समूहलाई लाभ पुग्ने उद्देश्यले गरिएको निर्णयको संज्ञा दिए। विशेषगरी ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने गार्हस्थ्य उपभोक्तालाई करको दायरामा ल्याउने निर्णयलाई उनले “जनताको भान्सामाथिको आक्रमण” भएको टिप्पणी गरे।

त्यसैगरी, निर्माण व्यवसायीहरूको खुट्टा भाँचिदिने भनी भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले दिएको भनिएको अभिव्यक्तिप्रति पनि उनले आपत्ति जनाए। विधिको शासनमा हिंसा र शारीरिक आक्रमणको धम्कीलाई कुनै स्थान नरहेको उल्लेख गर्दै काम नगर्ने व्यवसायीलाई कानुनअनुसार कारबाही गर्न सकिने तर धम्कीपूर्ण भाषा प्रयोग गर्नु लोकतान्त्रिक मूल्य–मान्यता विपरीत हुने बताए।

सरकारले विगतका विभिन्न काण्डहरूको फाइल खोल्ने चेतावनी दिएको विषयमा प्रतिक्रिया दिँदै सांसद बरालले नेकपा एमाले कुनै पनि छानबिन र परीक्षण सामना गर्न तयार रहेको बताए।

सुदूरपश्चिमको गोदावरी मा वनरक्षकहरूले एक महिलाको अटो भीरबाट खसालेको भनिएको घटनाप्रति दुःख व्यक्त गर्दै उनले यसलाई ‘शक्तिको दम्भ’ को उदाहरण भएको बताए। यस्ता घटनाले राज्यप्रति नागरिकको विश्वास कमजोर बनाउने उनको भनाइ थियो।

सांसद बरालले सरकारलाई महँगी नियन्त्रण गर्न, शिक्षा क्षेत्रमा भइरहेको शुल्क वृद्धि रोक्न तथा सुशासन कायम गर्न विशेष ध्यान दिन आग्रह समेत गरे।

Skip This