बेइजिङ-बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र परराष्ट्रमन्त्री शिशिर खनालबिच द्विपक्षीय भेटवार्ता भएको छ। सोमबार भएको भेटमा चीनले आफ्नो छिमेक कूटनीतिमा नेपालसँगको सम्बन्धलाई सधैँ महत्त्वपूर्ण स्थानमा राखेको चिनियाँ विदेशमन्त्री वाङले बताए।
चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्यसमेत रहेका वाङले सम्पूर्ण नेपाली जनताप्रति चीनले मैत्रीपूर्ण नीति अख्तियार गरेको प्रस्ट पारे। उनले नेपालको राष्ट्रिय सार्वभौमसत्ता, स्वतन्त्रता र क्षेत्रीय अखण्डताको रक्षा गर्न तथा नेपालको आफ्नै राष्ट्रिय परिस्थितिअनुरूपको विकासको बाटो तय गर्न चीनले सधैँ सहयोग गर्ने बताए।

वाङले नेपालसँग मिलेर उच्च गुणस्तरको बेल्ट एन्ड रोड (बीआरआई) सहकार्यलाई अगाडि बढाउन चीन इच्छुक रहेको बताए। विशेषगरी विद्युत् प्रसारण लाइन, राजमार्ग, सीमा नाका र उड्डयन क्षेत्रको सहकार्यमा ध्यान केन्द्रित गर्दै नेपाललाई भूपरिवेष्टित देशबाट भूजडित देशमा रूपान्तरण गर्न सहयोग गर्ने उनले प्रतिबद्धता जनाए। यसका लागि दुवै पक्षले विभिन्न सहयोग संयन्त्रको पूर्ण उपयोग गर्नुपर्ने, व्यावहारिक सहकार्यलाई गहिरो बनाउनुपर्ने र सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्नुपर्नेमा उनले जोड दिए।
चीनले आफ्ना उद्यम र कम्पनीहरूलाई नेपालमा लगानी गर्न र व्यापार गर्न प्रोत्साहित गरिरहेको बताउँदै वाङले नेपालले पनि त्यसका लागि थप समतामूलक र पारदर्शी व्यावसायिक वातावरण उपलब्ध गराउने विश्वास व्यक्त गरे।
जवाफमा परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको राष्ट्रिय विकास र जनताको जीविकोपार्जनमा सुधार ल्याउन चीनले गर्दै आएको लामो समयदेखिको सहयोगप्रति आभार व्यक्त गरे। चीनले नेपाललाई सधैं समान व्यवहार गरेको र सार्वभौमसत्ता तथा स्वतन्त्रताको सम्मान गरेको उनले उल्लेख गरे।
चीनको विकास नेपालका लागि पनि अवसर भएको भन्दै खनालले चिनियाँ लगानीलाई स्वागत गरे। उनले चिनियाँ लगानीकर्तालाई निष्पक्ष, कानुनमा आधारित र मैत्रीपूर्ण व्यावसायिक वातावरण उपलब्ध गराउन नेपाल तयार रहेको बताए। साथै, नेपालले मानवताका लागि साझा भविष्य निर्माण गर्ने दृष्टिकोणलाई पूर्ण रूपमा समर्थन गर्ने र चीनले प्रस्ताव गरेका विश्वव्यापी पहलहरूलाई साथ दिने उनले स्पष्ट पारे।






प्रतिक्रिया