अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्माण व्यवसायीविरुद्ध मन्त्रीको अभिव्यक्तिप्रति सांसद स्वारको आपत्ति

निर्माण व्यवसायीविरुद्ध मन्त्रीको अभिव्यक्तिप्रति सांसद स्वारको आपत्ति


काठमाडौँ-सांसद भरतबहादुर स्वारले पूर्वाधारमन्त्री सुनिल लम्सालले निर्माण व्यवसायीका विषयमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। उनले निर्माण व्यवसायी र यातायात व्यवसायीका समस्यालाई राष्ट्रिय समस्याका रूपमा लिएर समाधान गर्न सरकारसँग माग गरेका छन्।

पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद स्वारले निर्माण तथा यातायात क्षेत्र देशको आर्थिक र भौतिक विकाससँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै यी क्षेत्रका समस्या समाधान हुन नसक्दा विकास प्रक्रिया नै प्रभावित हुने बताए।

उनले निर्माण व्यवसायी र यातायात व्यवसायीलाई राज्यका महत्त्वपूर्ण साझेदारका रूपमा चित्रण गर्दै उनीहरूको मनोबल कमजोर पार्ने खालका अभिव्यक्ति उचित नहुने धारणा राखे। ‘निर्माण व्यवसायी र यातायात व्यवसायी पनि यही देशका नागरिक हुन्। उनीहरूको काममा अवरोध आउनु भनेको देशकै विकासमा अवरोध आउनु हो। त्यसैले सरकारको दायित्व उनीहरूको मनोबल बढाउने र समस्या समाधान गर्ने हुनुपर्छ,’उनले भने।

सांसद स्वारले निर्माण तथा यातायात क्षेत्रका समस्या केवल सम्बन्धित व्यवसायीका मात्र नभई समग्र राष्ट्रकै समस्या भएको बताए। उनले यस्ता विषयलाई सामान्य रूपमा नलिई दीर्घकालीन समाधानका लागि सरकारले विशेष पहल गर्नुपर्नेमा जोड दिए।

उनले पूर्वाधार विकास समितिमा पटक–पटक उठाइने समस्याहरू छलफलमै सीमित हुन नहुने उल्लेख गर्दै सम्बन्धित मन्त्रालयले तत्काल कार्यान्वयनका कदम चाल्नुपर्ने बताए। साथै, मन्त्रालयका अधिकारीहरूलाई जिम्मेवार र जवाफदेही बन्न आग्रह गर्दै प्रत्येक बैठकमा समस्या समाधानका लागि ठोस कार्ययोजना तयार गर्नुपर्ने सुझावसमेत दिए।

सांसद स्वारले निर्माण र यातायात क्षेत्रलाई सुदृढ बनाउन सरकार, मन्त्रालय र सरोकारवाला निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गर्दै विकास निर्माणका कामलाई गति दिन यिनका समस्या समयमै सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गरे।

Skip This