ललितपुर-वर्षा र सहकालका देवताका रूपमा पुजिने ऐतिहासिक रातो मच्छिन्द्रनाथको रथ आज लगनखेलबाट तानेर जावलाखेल पुर्याइएको छ। अपराह्नदेखि सुरु गरिएको रथयात्रा साँझ जावलाखेल पुगेसँगै यस वर्षको जात्राको महत्वपूर्ण चरण पूरा भएको हो।
प्राचीन परम्पराअनुसार रातो मच्छिन्द्रनाथको रथलाई ललितपुरका विभिन्न टोल तथा स्थानहरूमा परिक्रमा गराइने गरिन्छ। जावलाखेल पुगेपछि अब असार ६ गते शनिबार भोटो देखाइने तय भएको छ ।
रातो मच्छिन्द्रनाथको जात्रा नेपालमा मनाइने जात्रामध्ये सबैभन्दा लामो तथा ऐतिहासिक जात्राका रूपमा परिचित छ। यो जात्रा वैशाख शुक्ल प्रतिपदादेखि सुरु भई आषाढ शुक्ल चतुर्थीसम्म सञ्चालन हुने परम्परा रहेको छ।
जात्राको अन्तिम तथा मुख्य आकर्षणका रूपमा भोटो देखाउने कार्यक्रम हुने गर्दछ। भोटो प्रदर्शन सम्पन्न भएपछि रातो मच्छिन्द्रनाथलाई सानो खटमा राखेर बुंगमती लगिने परम्परा छ। त्यसपछि औपचारिक रूपमा जात्रा समापन हुने गर्दछ।
रातो मच्छिन्द्रनाथको रथयात्रा धार्मिक आस्था, सांस्कृतिक महत्व र सामुदायिक एकताको प्रतीकका रूपमा ललितपुर उपत्यकामा विशेष उत्साहका साथ मनाइँदै आएको छ।









प्रतिक्रिया