काठमाडौं-भारतले नेपाली चिया निर्यातमा अघोषित रूपमा अवरोध लगाएपछि पूर्वी नेपालका चिया उद्योगहरू धमाधम बन्द हुन थालेका छन्।
नेपाल चिया उत्पादक संघका अनुसार १ असारदेखि इलामका ५६ चिया उद्योग बन्द भइसकेका छन् भने आज (४ असार) देखि झापाका ३० भन्दा बढी उद्योग र करिब दुई दर्जन चिया बगानहरू पूर्ण रूपमा बन्द भएका छन्।
चिया उत्पादनको प्रमुख पकेट क्षेत्र मानिने इलाम र झापामा उत्पादन भएको चिया निर्यात हुन नसकेपछि गोदाममै थन्किएको छ। निर्यात अवरुद्ध भएपछि व्यवसायीहरूलाई उद्योग सञ्चालन गर्न असम्भव भएको संघले जनाएको छ।
संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार भारतले गरेको अवरोध हटाउन सम्बन्धित सरकारी निकायमा पटक–पटक आग्रह गर्दा पनि कुनै ठोस पहल नभएको कारण व्यवसायीहरू उद्योग बन्द गर्न बाध्य भएका हुन्।
उद्योग बन्द हुँदा हजारौँ श्रमिकको रोजगारीसमेत प्रभावित भएको र तत्काल कूटनीतिक पहल गरी समस्या समाधान गर्न व्यवसायीहरूले सरकारसँग माग गरेका छन्।






प्रतिक्रिया