अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अख्तियारले राहदानी छपाइ ठेक्का प्रकरणमा आरजु राणा देउवालाई बयानका लागि बोलायो

अख्तियारले राहदानी छपाइ ठेक्का प्रकरणमा आरजु राणा देउवालाई बयानका लागि बोलायो


काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाइ ठेक्का प्रक्रियासम्बन्धी अनुसन्धानका क्रममा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवालाई पनि बयानका लागि हाजिर हुन सूचना जारी गरेको छ।

आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। त्यही प्रकरणमा पूर्वमन्त्री राणाको नाम पनि म्याद तामेलीमार्फत बुझाइएको हो।

मंगलबार अख्तियारको टोली बूढानीलकण्ठस्थित देउवा निवास क्षेत्रमा पुगेको थियो। तर त्यहाँ सम्बन्धित व्यक्ति नभेटिएपछि म्याद तामेली प्रक्रिया अघि बढाइएको हो। पछि उनका स्वकीय सचिव भानु देउवामार्फत पत्र बुझाइएको बताइएको छ।

सूचना अनुसार राहदानी छपाइ ठेक्का प्रक्रियामा भएको भनिएको अनियमिततासम्बन्धी अनुसन्धानका लागि आवश्यक बयान दिन आरजु राणालाई आयोगले बोलाएको हो। त्यस समयमा उनी परराष्ट्रमन्त्री रहेको बताइन्छ।

अनुसन्धानका क्रममा हालसम्म राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, निर्देशक सुनिल कुमार केसी, ठेक्का पाउने कम्पनीका नेपाली एजेन्ट नमस्ते ग्लोबल कम प्रालिका प्रमुख कार्यकारी अधिकृत मनिन्द्रराज मल्ल र विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्यलाई हिरासतमा राखी बयान लिइरहेको आयोगले जनाएको छ।

आयोगले यस प्रकरणमा अन्य सम्बन्धित कर्मचारी तथा ठेक्का प्रक्रियासँग जोडिएका व्यक्तिमाथि पनि अनुसन्धान जारी रहेको जनाएको छ।

सूचनामा भनिएको छ- यस आयोगमा परेको वादी नेपाल सरकार प्रतिवादी आरजु राणा देउवा समेत भएको राहदानी छपाई सम्बन्धी कार्यमा भ्रष्टाचारजन्य कसुर गरेको भन्ने उजुरीको अनुसन्धानको सिलसिलामा तपाईसँग बयान लिनुपर्ने भएकोले यो सूचना बुझेको वा तपाईँको घरदैलोमा टाँस भएको मितिले बाटोको म्याद बाहेक ३ (तीन) दिनभित्र यस आयोगको महाशाखा नं. १२, कोठा नं. १२ टंगाल, काठमाडौंमा उपस्थित हुन आउनु होला, नआए कानुन बमोजिम हुनेछ ।

Skip This