अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालको सार्वभौम अस्तित्व जोगाउन जङ्गबहादुरबाट सिक्नुपर्छ: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

नेपालको सार्वभौम अस्तित्व जोगाउन जङ्गबहादुरबाट सिक्नुपर्छ: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी


काठमाडौं-पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको स्वतन्त्र अस्तित्व, सार्वभौमसत्ता र राष्ट्रियताको संरक्षणका लागि इतिहासबाट शिक्षा लिनुपर्ने बताएकी छन्। उनले नेपालको सार्वभौम अस्तित्व जोगाउने सन्दर्भमा श्री ३ महाराज जङ्गबहादुर राणाबाट धेरै कुरा सिक्न सकिने उल्लेख गरिन्।

आइतबार आयोजित ‘नेपाली राष्ट्रियता र श्री ३ महाराज जङ्गबहादुर राणा’ विषयक प्रवचन कार्यक्रममा बोल्दै भण्डारीले १९औँ शताब्दीमा औपनिवेशिक विस्तारको चुनौतीपूर्ण परिस्थितिमा पनि नेपालले स्वतन्त्र अस्तित्व कायम राख्न सफल हुनुमा जङ्गबहादुर राणाको महत्वपूर्ण भूमिका रहेको बताइन्।

दक्षिण एशियाका अधिकांश भूभाग ब्रिटिश साम्राज्यको अधीनमा गइसकेको अवस्थामा नेपालले आफ्नो स्वतन्त्र पहिचान जोगाउन सकेको भन्दै उनले त्यसको श्रेय तत्कालीन नेतृत्वलाई जानुपर्ने बताइन्। जङ्गबहादुरको बेलायत भ्रमणले अन्तर्राष्ट्रिय शक्ति सन्तुलन बुझ्न मद्दत पुगेको र त्यसपछिको कूटनीतिक व्यवहारले नेपाल–ब्रिटिश सम्बन्धलाई व्यवस्थित बनाउन योगदान दिएको उनको भनाइ थियो।

पूर्वराष्ट्रपति भण्डारीले नेपाल-ब्रिटिश भारत सीमाको व्यवस्थापनका क्रममा स्थापना गरिएका ‘जङ्गे पिलर’हरूले सीमा स्पष्टता तथा प्रशासनिक स्थिरतामा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिन्। साथै, सन् १८५७ को भारतीय विद्रोह दमनमा नेपालले दिएको सैन्य सहयोगका कारण बाँके, बर्दिया, कैलाली र कञ्चनपुरसहितको ‘नयाँ मुलुक’ नेपालले फिर्ता प्राप्त गरेको घटनालाई जङ्गबहादुरको शासनकालसँग जोडिएको महत्वपूर्ण राष्ट्रिय उपलब्धिका रूपमा व्याख्या गरिन्।

उनले जङ्गबहादुरले विक्रम संवत् १९१० मा जारी गरेको मुलुकी ऐनलाई नेपालको पहिलो कानुनी संहिताका रूपमा लिन सकिने बताइन्। यद्यपि उक्त ऐनमा तत्कालीन समाजको जातीय संरचना र सामाजिक असमानताका केही पक्ष प्रतिबिम्बित भएको र आजको लोकतान्त्रिक मूल्य-मान्यताका दृष्टिले ती स्वीकार्य नरहेको उनको भनाइ थियो।

भण्डारीले सती प्रथालाई निरुत्साहित गर्ने प्रयासलगायत जङ्गबहादुरका सामाजिक सुधारका पहलहरू पनि उल्लेखनीय रहेको बताइन्। वर्तमान नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको मार्गमा अघि बढिरहेको उल्लेख गर्दै उनले राष्ट्रियताको अवधारणा अब केवल भौगोलिक अखण्डता र सार्वभौमसत्ताको संरक्षणमा सीमित नरही लोकतान्त्रिक मूल्य, सामाजिक न्याय, समावेशिता, राष्ट्रिय एकता, आर्थिक आत्मनिर्भरता तथा नागरिक अधिकारको प्रवर्द्धनसँग जोडिएको बताइन्।

उनले इतिहासका विभिन्न कालखण्डका अनुभवबाट शिक्षा लिँदै अझ सबल, समुन्नत र आत्मविश्वासी नेपाल निर्माण गर्नुपर्नेमा जोड दिइन्। राष्ट्रियताको संरक्षण र लोकतन्त्रको सुदृढीकरणबीच सन्तुलन कायम गर्नु नै आधुनिक नेपालको दिगो विकास र सफलताको आधार हुने उनको भनाइ थियो।

Skip This