काठमाडौँ–नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गरिरहेको “दोस्रो राष्ट्रिय आर्थिक गणना, २०८२” को स्थलगत तथ्याङ्क सङ्कलन कार्य अन्तिम चरणमा पुगेको छ। कार्यालयको तालिम हलमा आज आयोजित विशेष पत्रकार सम्मेलनमा गणनाको हालसम्मको उत्साहजनक प्रगति र भावी कार्यदिशा सार्वजनिक गरिएको हो।
देशभर सञ्चालनमा रहेका आर्थिक क्रियाकलापहरूको वस्तुनिष्ठ चित्रण गरी प्रमाणमा आधारित नीति निर्माण र योजना तर्जुमाका लागि कोसेढुङ्गा मानिने यो गणना गत वि.सं. २०८२ चैत १ गतेदेखि सुरु भई आगामी असार मसान्तसम्म सञ्चालन हुने गरी व्यवस्थापन गरिएको छ। नेपालको सन्दर्भमा यसअघि वि.सं. २०७५ मा पहिलो पटक राष्ट्रिय आर्थिक गणना सम्पन्न गरिएको थियो।
यस वर्षको आर्थिक गणनामा उल्लेख्य प्रगति भएको तथ्याङ्कले देखाउँछ। हालसम्म कुल १३ लाख ५१ हजार १६७ प्रतिष्ठानहरूको विवरण सङ्कलन भइसकेको छ। वि.सं. २०७५ सालमा गरिएको पहिलो आर्थिक गणनाको तुलनामा यो संख्या निकै बढी हो।
विशाल जनशक्ति परिचालन र समन्वय
देशव्यापी रूपमा सञ्चालित यस महान् कार्यलाई सफलतापूर्वक सम्पन्न गर्न ठूलो संख्यामा जनशक्ति परिचालन गरिएको थियो । कार्यालयका अनुसार यस कार्यमा निम्नानुसार जनशक्ति खटिएका थिए:
- गणक : ३,९०७ जना
- सुपरिवेक्षक: ५२६ जना
- व्यवस्थापन समूह (जिल्लास्तर): ५०४ जना
- व्यवस्थापन समूह (केन्द्रस्तर – कोर ग्रुप र अन्य): ५३ जना
यस गणना कार्यलाई कानुनी रूपमा नेपालको संविधान, तथ्याङ्क ऐन २०७९, तथ्याङ्क विकासका लागि राष्ट्रिय रणनीति (दोस्रो), तथा राष्ट्रिय आर्थिक गणनासम्बन्धी प्रशासनिक तथा आर्थिक मापदण्ड २०८२ ले मार्गदर्शन गरेका छन् । गणना कार्यलाई सफल बनाउन अर्थ, गृह, भूमि व्यवस्था, सङ्घीय मामिला मन्त्रालय, राष्ट्रिय योजना आयोग, विभिन्न प्रदेश तथा स्थानीय तहका समन्वय समितिहरू, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्स लगायतका व्यावसायिक संघ-संस्थाहरू र सञ्चार जगतले सहयोग पुर्याएका छन् ।
आर्थिक गणनाको महत्व र आगामी कार्यदिशा
यस गणनाबाट उद्योग, व्यापार, सेवा क्षेत्र, निजी तथा सार्वजनिक संघ-संस्थाको संख्या, भौगोलिक वितरण, रोजगारी, उत्पादन र सेवा प्रवाहसम्बन्धी महत्त्वपूर्ण विवरण प्राप्त हुने मुख्य उद्देश्य राखिएको छ। यसबाट प्राप्त तथ्याङ्कका आधारमा देशको कुल गार्हस्थ उत्पादन (GDP) को अनुमान सुदृढीकरण गर्ने, राष्ट्रिय लेखाको आधार वर्ष परिवर्तन गर्ने तथा सरकारको नीति निर्माण, योजना तर्जुमा र लगानी प्रवर्द्धनमा मद्दत पुग्ने अपेक्षा गरिएको छ।
कार्यालयको कार्ययोजना अनुसार, अबको आगामी आर्थिक वर्षभित्र क्रमशः ४ महिनाभित्र डाटा कोडिङ तथा इन्ट्री कार्य सम्पन्न गरिनेछ । त्यसपछि ६ महिनादेखि गणनाको अन्तिम नतिजा प्रकाशन र सार्वजनिक गर्ने कार्य क्रमशः सुरु हुनेछ ।
छुटेका प्रतिष्ठानहरूलाई सहभागी हुन कार्यालयको आह्वान
राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रवक्ता तथा उपप्रमुख तथ्याङ्क अधिकारी ढुण्डीराज लामिछानेका अनुसार, स्थलगत कार्यमा खटिएका करार सेवाका गणक र सुपरिवेक्षकहरूको करार अवधि आजै (२०८३ असार ८ गते) बाट सकिँदैछ। यद्यपि, जिल्ला आर्थिक गणना कार्यालयहरू भने असार मसान्तसम्मै खुला रहनेछन्।
अझै पनि अनलाइन वा कागजी विधिबाट आंशिक विवरण भरेका वा पूर्ण विवरण भर्न बाँकी रहेका, तथा गणना क्षेत्रमा छुट भएका प्रतिष्ठानहरूले सम्बन्धित जिल्ला आर्थिक गणना कार्यालयमा सम्पर्क राखी गणनामा समावेश हुन सक्नेछन् । कार्यालयले सम्पूर्ण सरोकारवालाहरूलाई यस प्रक्रियामा सहभागी हुन र बाँकी कार्य सम्पन्न गर्न सहयोग गर्न हार्दिक आह्वान गरेको छ।
थप जानकारीका लागि: थप सोधपुछ वा विवरणका लागि राष्ट्रिय तथ्याङ्क कार्यालयको टोल फ्री नम्बर ११७८ मा वा निर्देशक डा. वेद प्रसाद ढकालको मोवाइल नम्बर ९८४१३०४५५४ मा सम्पर्क गर्न सकिनेछ।






प्रतिक्रिया