काठमाडौँ- राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गरिरहेको “राष्ट्रिय आर्थिक गणना, २०८२” अन्तर्गतको स्थलगत तथ्याङ्क सङ्कलन कार्य अन्तिम चरणमा पुगेको जनाएको छ। “अर्थतन्त्र मापनका लागि आर्थिक गणना” भन्ने नारासहित सञ्चालन भइरहेको दोस्रो राष्ट्रिय आर्थिक गणनाले देशभरका उद्योग, व्यापार, सेवा क्षेत्र तथा संघ-संस्थाको यथार्थ आर्थिक चित्र संकलन गर्ने लक्ष्य लिएको छ।
कार्यालयका अनुसार गणनाको स्थलगत तथ्याङ्क सङ्कलन कार्य २०८३ वैशाख २ गतेदेखि असार ७ गतेसम्म सञ्चालन हुने कार्ययोजना अनुसार अघि बढिरहेको छ। त्यसपछि संकलित तथ्याङ्कको कोडिङ र इन्ट्री कार्य चार महिनाभित्र सम्पन्न गरी प्रारम्भिक नतिजा आगामी ६ महिनादेखि क्रमशः सार्वजनिक गरिनेछ।
गणनाबाट देशको कुल गार्हस्थ उत्पादन (GDP) को अनुमानलाई थप सुदृढ गर्ने, राष्ट्रिय लेखाको आधार वर्ष अद्यावधिक गर्ने तथा आर्थिक नीति निर्माण, योजना तर्जुमा र रोजगारी सिर्जनामा आवश्यक आधार तयार गर्ने उद्देश्य राखिएको छ।
तथ्याङ्क संकलनको अवस्था
कार्यालयका अनुसार हालसम्म दोस्रो आर्थिक गणनामा कागजी र इ–सेन्सस माध्यमबाट गरी १३ लाख ५१ हजारभन्दा बढी प्रश्नावली संकलन भइसकेका छन्। पहिलो आर्थिक गणनाको तुलनामा यस पटक सहभागिता उल्लेख्य रूपमा बढेको जनाइएको छ।
जनशक्ति र समन्वय
गणनामा ३,९०७ गणक, ५२६ सुपरिवेक्षक तथा ५०० भन्दा बढी व्यवस्थापन टोली परिचालन गरिएको छ। संघीयदेखि स्थानीय तहसम्म विभिन्न समिति तथा सरोकारवाला निकायहरूको समन्वयमा कार्य अघि बढाइएको कार्यालयले जनाएको छ।
कार्यालयको आह्वान
करार सेवामा रहेका गणक तथा सुपरिवेक्षकहरूको सम्झौता असार ८ गते सकिने भए पनि जिल्ला आर्थिक गणना कार्यालयहरू असार मसान्तसम्म सञ्चालनमा रहनेछन्। गणनामा छुट भएका वा विवरण पूरा गर्न बाँकी रहेका प्रतिष्ठानहरूलाई सम्बन्धित कार्यालयमार्फत प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ। कार्यालयले सबै सरोकारवालालाई बाँकी कार्य सम्पन्न गर्न सहयोग गर्न समेत आह्वान गरेको छ।






प्रतिक्रिया