काठमाडौं- नेकपा (एमाले)ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सुर्खेतबाट गिरफ्तार गरिएकोप्रति गम्भीर आपत्ति जनाउँदै यसलाई राजनीतिक प्रतिशोध र विपक्षी दलमाथिको दमनकारी कदमको रूपमा व्याख्या गरेको छ।
असार ८ गते सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा जारी प्रेस वक्तव्यमा पौडेललाई पार्टीको सांगठनिक कार्यक्रममा सहभागी भइरहेका बेला सरकारले गैरकानुनी ढंगले पक्राउ गरेको उल्लेख गर्दै उक्त कदमको घोर निन्दा र भर्त्सना गरिएको छ।
वक्तव्यमा पौडेलको गिरफ्तारीलाई गैरकानुनी, बदनियतपूर्ण र राजनीतिक प्रतिशोधबाट प्रेरित कदमका रूपमा चित्रित गरिएको छ।
पार्टीले विधिको शासन, कानुनी राज्य र सुशासनप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै वर्तमान सत्तापक्षले विपक्षी दलहरूमाथि अराजनीतिक र अलोकतान्त्रिक व्यवहार गरिरहेको आरोप लगाएको छ। तर वर्तमान सरकारले विपक्षी दलहरूप्रति अपनाएको व्यवहार अलोकतान्त्रिक, असहिष्णु र प्रतिशोधपूर्ण रहेको आरोप लगाइएको छ।
एमालेका अनुसार उपाध्यक्ष पौडेल कार्यक्रम सकेर भोलिपल्ट काठमाडौं फर्कने पूर्वनिर्धारित कार्यतालिकामा थिए। सामान्य कानुनी प्रक्रिया अपनाउन सकिने अवस्था हुँदाहुँदै हतारमा पक्राउ गरिएको भन्दै पार्टीले यस कदमको औचित्यमाथि प्रश्न उठाएको छ।
वक्तव्यमा सार्वजनिक पदमा रहेका वा नरहेका सबै राजनीतिक व्यक्तित्वलाई समान मापदण्डका आधारमा व्यवहार गर्नुपर्ने उल्लेख गर्दै वर्तमान सरकारले विपक्षी नेताहरूलाई निशाना बनाएको आरोप लगाइएको छ। एमालेले यस प्रकारका अधिनायकवादी प्रवृत्तिको डटेर सामना गर्ने चेतावनी पनि दिएको छ।
पार्टीले सरकारलाई विपक्षी दलका नेतामाथि लक्षित ‘निहित र प्रतिशोधपूर्ण’ गतिविधि तत्काल रोक्न आग्रह गर्दै लोकतन्त्र, विधिको शासन र राजनीतिक स्वतन्त्रताको पक्षमा उभिन सम्पूर्ण लोकतान्त्रिक शक्तिहरूलाई एकजुट हुन आह्वान गरेको छ।
एमालेले वर्तमान सरकार सर्वसत्तावाद र अधिनायकवादको बाटोतर्फ उन्मुख भएको दाबी गर्दै विपक्षी दलका नेतामाथि लक्षित प्रतिशोधपूर्ण गतिविधि तत्काल बन्द गर्न चेतावनी दिएको छ। साथै, सरकारका स्वेच्छाचारी र लोकतन्त्रविरोधी क्रियाकलापविरुद्ध एकजुट हुन देशभक्त, न्यायप्रेमी र लोकतान्त्रिक शक्तिलाई आह्वान गरेको छ।
पार्टी अध्यक्ष ओलीद्वारा हस्ताक्षरित वक्तव्यमा भनिएको छ, ‘वर्तमान सत्तापक्षले विपक्षी दलहरू प्रति अख्तियार गरिरहेको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको यो अर्को पराकाष्ठा हो । यो दमनकारी कदम र हाम्रो पार्टी नेकपा (एमाले) माथि लगातार भइरहेको श्रृङ्खलाबद्ध प्रहार र राजनीतिक षड्यन्त्रको निरन्तरता हो भन्ने कुरा स्पष्ट छ ।’







प्रतिक्रिया