काठमाडौं-नेकपा (एमाले)की नेतृ तथा राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग जोडिएको भनिएको अडियो प्रकरणमा पीडित भनिएकी महिला र उनका नाबालक बच्चाको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेकी छन्।
उनले घटनामा संलग्नमाथि कानुनी कारबाही अघि बढाउनुअघि सम्भावित जोखिममा रहेका आमा र बच्चाको जीवनरक्षा तथा सुरक्षित बसोबासको व्यवस्था गर्न नेपाल प्रहरीको ध्यानाकर्षण गराएकी हुन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै झाँक्रीले सार्वजनिक भएको अडियोमा महिलामाथि अश्लील गालीगलौज र ज्यान मार्ने धम्की दिइएको विषयले आफूलाई स्तब्ध बनाएको बताएकी छन्। उनका अनुसार अडियोमा नाबालक बच्चालाई समेत लक्षित गरी अपमानजनक शब्द प्रयोग गरिएको र मार्ने धम्की दिइएको सुनिन्छ।
बच्चालाई समेत विवादमा तानेर धम्की दिने कार्य अस्वीकार्य रहेको उल्लेख गर्दै उनले वयस्कबीचको सम्बन्ध वा विवादमा नाबालकलाई दोषीका रूपमा प्रस्तुत गर्न नमिल्ने बताएकी छन्। बालबालिकालाई लक्षित गरी दिइने धम्कीले उनीहरूको सुरक्षा र मानसिक अवस्थामासमेत गम्भीर असर पार्न सक्ने उनको भनाइ छ।
झाँक्रीले सम्भावित अप्रिय घटना हुन नदिन प्रहरीले तत्काल कदम चाल्नुपर्नेमा जोड दिएकी छन्। पीडितको सुरक्षा सुनिश्चित भएपछि घटनाबारे निष्पक्ष अनुसन्धान गरी दोषी देखिएकालाई कानुनअनुसार कारबाही गर्नुपर्ने उनको माग छ।
उनले यस विषयमा रास्वपा सभापति रवि लामिछानेको समेत ध्यानाकर्षण गराएकी छन्। पार्टीसँग सम्बन्धित व्यक्तिको नाम जोडिएको गम्भीर विषयलाई राजनीतिक वा व्यक्तिगत विवादका रूपमा मात्र नहेरी संवेदनशीलतापूर्वक सम्बोधन गर्नुपर्ने उनको धारणा छ।
व्यक्तिगत मामिलामा सामान्यतया आफूले टिप्पणी नगर्ने भए पनि यस घटनामा महिला र नाबालकको सुरक्षा, हिंसाको जोखिम र गम्भीर मानसिक आघातको विषय जोडिएकाले बोल्नुपरेको झाँक्रीले उल्लेख गरेकी छन्।
उनले नेपाल प्रहरीसँग आमा र बच्चालाई तत्काल उद्धार गरी सुरक्षित वातावरणमा राख्न तथा घटनाको सत्यतथ्य छानबिन गर्न आग्रह गरेकी छन्।



प्रतिक्रिया