अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सुदूरपश्चिमको निर्णय- बजेट संशोधन नभए सरकार छोड्ने

एमाले सुदूरपश्चिमको निर्णय- बजेट संशोधन नभए सरकार छोड्ने


धनगढी-सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको बजेटप्रति सत्ता साझेदार दल नेकपा (एमाले)ले गम्भीर असन्तुष्टि जनाएको छ। एमाले सुदूरपश्चिम प्रदेश कमिटी बैठकले बजेटप्रति असहमति जनाउँदै बजेटमा आवश्यक संशोधन नगरिए सरकारबाट बाहिरिनेसम्मको चेतावनी एमालेले दिएको छ।

धनगढीमा सम्पन्न एमाले सुदूरपश्चिम प्रदेश कमिटीको ११औँ पूर्ण बैठकले बजेट विनियोजन प्रक्रिया एकपक्षीय ढङ्गले अघि बढाइएको निष्कर्ष निकाल्दै त्यसप्रति असहमति जनाएको हो।

पार्टीका प्रदेश उपसचिव तथा प्रचार विभाग प्रमुख भागरथी विष्टद्वारा जारी विज्ञप्तिमा बजेट निर्माणका क्रममा सत्ता साझेदार दलबीचको सहमति र साझा नीति तथा कार्यक्रमको बेवास्ता गरिएको उल्लेख छ। विज्ञप्तिमा बजेट विनियोजनमा एकलौटी प्रवृत्ति देखिएको भन्दै त्यसप्रति पार्टीको गम्भीर आपत्ति रहेको जनाइएको छ।

‘सुदूरपश्चिम सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट विनियोजन गर्दा संयुक्त सरकारको सहमति, नीति र कार्यक्रम अनुरूप नभई एकलौटी गर्न खोजिएकोप्रति असहमति प्रकट गर्दै बजेटमा आवश्यक संशोधन गर्न यो बैठक माग गर्दछ,’ निर्णयमा भनिएको छ, ‘सो विषयमा संसदीय दललाई निर्देशन दिने र सहमति नभई संशोधन नगरिएमा संयुक्त सरकारमा सहभागी हुन नसक्ने निर्णय गरिएको छ ।’

बैठकले बजेट संशोधनका लागि आफ्नो संसदीय दललाई आवश्यक निर्देशन दिने निर्णय गरेको छ। साथै, एमालेले उठाएका माग सम्बोधन नभए संयुक्त सरकारमा सहभागी भइरहन नसकिने स्पष्ट चेतावनी दिएको छ।

एमाले सुदूरपश्चिमले प्रदेश सरकारले बजेट ल्याउँदा संयुक्त सरकारको भावना, साझा नीति तथा कार्यक्रम तथा दलहरूबीच भएको सहमतिलाई पूर्ण रूपमा बेवास्ता गरेको आरोप लगाएको छ। बजेटलाई लिएर सत्ता गठबन्धनभित्र देखिएको यो असन्तुष्टिले प्रदेश सरकारको स्थायित्वमाथि समेत प्रश्न उठाएको छ।

Skip This