अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

असार १५ मा कोशीका मुख्यमन्त्रीको सन्देश : कृषि उत्पादन बढाएर आत्मनिर्भर होऔं

असार १५ मा कोशीका मुख्यमन्त्रीको सन्देश : कृषि उत्पादन बढाएर आत्मनिर्भर होऔं


विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भरता तर्फ अघि बढ्नुपर्ने बताउनुभएको छ।
मुख्यमन्त्री कार्कीले धान दिवस तथा असार १५ को शुभकामना दिँदै पछिल्लो समयमा खेतीयोग्य जमिन बाझो हुनुले कृषि क्षेत्रमा गम्भीर असर परेको उल्लेख गर्नुभएको छ। नेपालीहरूको मौलिक पर्वका रूपमा स्थापित भएको उल्लेख गर्दै धान रोपाइँ, असारे भाका, दही–चिउरा खाने परम्पराले नेपाली संस्कृति र पहिचानलाई समृद्ध बनाएको बताउनुभएको छ । उहाले पछिल्लो समय युवाको वैदेशिक पलायन र बसाई सराईले खेतीयोग्य जमिन बाँझो हुन थालेकोमा चिन्ता व्यक्त गर्दै कृषि उत्पादनमा चुनौती थपिएको उल्लेख गर्नुभएको छ ।आधुनिक प्रविधि, यान्त्रिकीकरण र वैज्ञानिक खेतीमार्फत उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिनुभएको छ।
कोशी प्रदेश सरकारले कृषि उत्पादन, बजारीकरण, कृषिमा नवप्रवर्तन, व्यावसायिक खेती, उत्पादनमुखी योजना, प्राविधिक सहयोग तथा कृषकमैत्री कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उहाँले उल्लेख गर्नुभएको छ।
मुख्यमन्त्री कार्कीले राष्ट्रिय धान दिवसको अवसरमा सम्पूर्ण कृषकहरूको श्रम र योगदानप्रति सम्मान व्यक्त गर्दै कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन वृद्धि र समृद्ध कोशी प्रदेश निर्माणमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभएको छ।

Skip This