काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारका सम्बन्धमा सञ्चारमाध्यममा सार्वजनिक भएका समाचार, श्रव्यसामग्री तथा उठेका प्रश्नहरूमाथि छानबिन गर्न पार्टीको केन्द्रीय अनुशासन आयोगलाई निर्देशन दिएको छ। छानबिनको निष्कर्ष नआएसम्म सांसद सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन पनि पार्टीले निर्देशन दिएको छ।
पार्टीका महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी विज्ञप्तिमा सुनारसँग सम्बन्धित सार्वजनिक सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनाको सत्यतथ्य अन्वेषण गरी आवश्यक निष्कर्षमा पुग्न अनुशासन आयोगलाई तत्काल छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिइएको उल्लेख छ।
छानबिन प्रक्रिया निष्पक्ष रूपमा अघि बढाउन र पदीय नैतिकता कायम राख्न निष्कर्ष नआउँदासम्म औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको पार्टीले जनाएको छ। सार्वजनिक रूपमा उठेका प्रश्नहरूको वास्तविकता पत्ता लगाई निष्पक्ष निष्कर्षमा पुग्नु यस कदमको उद्देश्य रहेको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनजस्ता विषयलाई गम्भीर र संवेदनशील रूपमा लिइएको जनाइएको छ। यस्ता विषयमा पार्टीको शून्य सहनशीलताको नीति रहेको रास्वपाले स्पष्ट पारेको छ।
त्यस्तै, राज्यका सम्बन्धित निकायबाट हुने स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धानमा पार्टीका तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गरिएको छ। ‘कानुनभन्दा माथि कोही पनि हुँदैन’ भन्ने लोकतान्त्रिक मान्यतामा दृढ रहेको उल्लेख गर्दै रास्वपाले कानुन उल्लङ्घन गर्ने वा पदीय आचरणविपरीत कार्य गर्ने कसैलाई पनि राजनीतिक संरक्षण नदिने जनाएको छ।
पार्टीले सार्वजनिक भएका विषयको निष्पक्ष छानबिनबाट प्राप्त निष्कर्षका आधारमा आवश्यक निर्णय तथा कदम चालिने स्पष्ट पारेको छ।
विज्ञप्ति
राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट निर्वाचित प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारका सम्बन्धमा सञ्चारमाध्यममा प्रकाशित समाचार सार्वजनिक भएका श्रव्य सामग्री र उहाँका विषयमा उठाइएका गम्भीर प्रश्नहरूप्रति यस पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। सञ्चारमाध्यममार्फत आरोपका रूपमा सार्वजनिक भएका महिलाको मर्यादा र सम्मानमा आँच पुयाउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेन जस्ता विषयहरू अत्यन्त गम्भीर र संवेदनशील छन्। विधिको शासन, सुशासन र नागरिक जवाफदेहिताको पक्षमा दृढतापूर्वक उभिएको रास्वपाले आफ्ना कुनै पनि तहका सदस्य वा जनप्रतिनिधिमाथि लाग्ने यस्ता प्रकृतिका आरोपहरूलाई सामान्य रूपमा लिन सक्दैन । महिलामाथि हुने कुनै पनि प्रकारका दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन र फौजदारी कसुरका विषयमा पार्टीको शून्य सहनशीलताको नीति रहेको तथ्य हामी पुनः स्पष्ट पार्न चाहन्छौं ।
यस विषयको सत्यतथ्य अन्वेषण गर्न पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकिएको छ। अनुसन्धान प्रक्रिया प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्नका खातिर, उक्त छानबिन निष्कर्षमा नपुग्दासम्मका लागि उहाँलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइन्छ ।
सार्वजनिक भएका यी विषयहरूको गाम्भीर्यतालाई मनन गरी राज्यका सम्बन्धित निकायहरूबाट अविलम्ब स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुनेछ भन्ने हाम्रो विश्वास छ। राज्यका निकायले गर्ने अनुसन्धान प्रक्रियामा पार्टीको तर्फबाट पूर्ण रूपमा सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दछौं ।
‘कानुनभन्दा माथि कोही पनि हुँदैन’ भन्ने लोकतान्त्रिक मान्यतामा रास्वपा दृढ छ । राज्यको स्वतन्त्र अनुसन्धान र पार्टीको आन्तरिक छानबिनबाट प्राप्त हुने निष्कर्षका आधारमा पार्टीले कानुन र विधानबमोजिम थप कदम चाल्नेछ । कानुनको उल्लङ्घन वा पदीय आचरणविपरीतको कार्य गर्ने जो कोहीलाई राजनीतिक संरक्षण दिने कार्य रास्वपाबाट कहिल्यै हुने छैन भन्ने कुरामा हामी सम्पूर्ण जनसमुदायलाई आश्वस्त पार्न चाहन्छौं ।




प्रतिक्रिया