काठमाडौँ-बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ। अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा राजधानीमा बस्दै आएका मानिसहरू दसैँ मनाउन धमाधम गाउँ फर्किन थालेका हुन्।
उपत्यकाका विभिन्न नाकामा देशका विभिन्न जिल्लातर्फ जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको छ। परिवार तथा आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन घर फर्किने यात्रुको सङ्ख्या बढेसँगै बसपार्क र सडकमा समेत यात्रुको भीड देखिन थालेको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालका अनुसार सोमबार बिहानदेखि मंगलबार बिहानसम्मको २४ घण्टामा काठमाडौँ उपत्यकाका विभिन्न नाका हुँदै ५६ हजार ८०९ यात्रु बाहिरिएका छन्।
उनका अनुसार उक्त अवधिमा नागढुङ्गा नाकाबाट सबैभन्दा बढी २७ हजार ६४९ यात्रु बाहिरिएका छन्। यस्तै, भक्तपुर नाकाबाट २० हजार ६१५, फर्पिङबाट पाँच हजार ५१०, तीनपिप्लेबाट ९७२, भट्टेडाँडाबाट ८८६, साँखुबाट ६०८, भीमढुङ्गाबाट ५१३ र थानकोट नाकाबाट ५६ यात्रु बाहिरिएका छन्।
यात्रुको चाप बढेसँगै यातायात व्यवस्थापनमा पनि चुनौती थपिएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले विभिन्न राष्ट्रिय राजमार्गको बिग्रिएको अवस्थाका कारण सवारीसाधन सञ्चालन तथा व्यवस्थापनमा समस्या भइरहेको बताए।
उनका अनुसार दसैँका लागि अग्रिम बस टिकट बुकिङ खुला गरिएको असोज २३ गतेकै दिन धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भासिएर सवारी आवागमन अवरुद्ध हुँदा धेरै सवारीसाधन काठमाडौँमै रोकिएका थिए। त्यसको असर अहिले सवारीसाधन व्यवस्थापनमा समेत परेको उनले बताए।
गौतमले सडकको अवस्थाका कारण सवारीसाधन समयमै गन्तव्यमा पुग्न तथा बाहिरबाट काठमाडौँ फर्किनसमेत समस्या भइरहेको उल्लेख गरे।
यसैबीच, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, सरकारले तोकेको भाडादरभन्दा बढी नतिर्न तथा यात्रा गर्नुअघि सवारीसाधनको अवस्था जाँच गर्न आग्रह गरेको छ।
दसैँमा परिवार, आफन्त र समुदायसँग भेटघाट गरी खुसी साटासाट गर्ने परम्पराका कारण रोजगारी तथा अध्ययनका लागि राजधानीमा बसोबास गर्दै आएका मानिसहरू हरेक वर्ष चाडपर्वको समयमा घर फर्किने गर्छन्। यस वर्ष पनि दसैँ नजिकिएसँगै उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या बढ्दै गएको छ।



प्रतिक्रिया