काठमाडौँ-नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले होल्डिङ सेन्टरमा राखिएका सुकुमबासीहरुको छिटोभन्दा छिटो वैज्ञानिक र मानवीय रूपमा उचित बसोबासको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले सो आग्रह गरेका हुन्।
नेता श्रेष्ठले सुकुमबासीहरुलाई बलजफ्ती निकाल्ने कार्य तत्काल बन्द गर्न समेत आग्रह गरेका छन्। अन्यथा त्यसको परिणाम धेरै गम्भीर हुन सक्ने चेतावनी समेत उनले दिएका छन्।
नेता श्रेष्ठले भनेका छन् : ‘अहिले पुनर्वासको व्यवस्था बिना नै सुकुम्बासीहरुलाई ती होल्डिङ सेन्टर बाट बलजफ्ती निकाल्ने सूचना ,धम्की र चेतावनी दिइएको छ ,जुन नितान्त गलत र गैरजिम्मेवार छ। सुकुम्बासीहरुलाई छिटो भन्दा छिटो वैज्ञानिक र मानवीय रूपमा उचित बसोबासको व्यवस्था गरियोस् र त्यस्तो व्यवस्था नभए सम्मको लागि होल्डिङ सेन्टरबाट बलजफ्ती निकाल्ने कार्य बन्द गरियोस् , अन्यथा त्यसको परिणाम धेरै गम्भीर हुन सक्नेछ ।’
सरकारले नेपाली सेना सहितको सुरक्षा फौज प्रयोग गरी बल प्रयोगद्वारा अमानवीय ढङ्गले सुकुम्बासीहरुलाई निकालिएको आराेप समेत उनले लगाएका छन्।







प्रतिक्रिया