अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशभरका साना नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह

देशभरका साना नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह


काठमाडौँ-देशका प्रमुख ठुला नदीहरूको बहाव सामान्य रहे पनि विभिन्न जिल्ला भई बहने ससाना नदी तथा खोलाहरूमा भने आकस्मिक बाढीको जोखिम देखिएको छ। 

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार हाल कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तलै छ। यस्तै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको अवस्था पनि सामान्य छ।

ठुला नदीमा तत्काल ठुलो जोखिम नदेखिए पनि ससाना नदी र खोल्साखोल्सीमा भने आगामी तीन दिनसम्म बहाव उल्लेख्य बढ्ने सम्भावना छ। महाशाखाका अनुसार आज झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौँ, भक्तपुर र ललितपुर भई बहने ससाना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम छ । यस्तै धादिङ, गोरखा, चितवन, तनहुँ, लमजुङ, कास्की, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा र आसपासका जिल्लाका नदीमा पनि पानीको सतह बढ्ने चेतावनी दिइएको छ।

बाढीको यो जोखिम भोलि र पर्सि पनि कायम रहने देखिन्छ। भोलि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश भई बहने धेरैजसो ससाना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने महाशाखाले जनाएको छ। सोही दिन कर्णाली र सुदूरपश्चिम प्रदेशका पनि केही नदीमा बाढी आउन सक्ने अनुमान छ।

यसैगरी पर्सि पनि कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका धेरैजसो ससाना नदी तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही नदीमा बहाव आकस्मिक रूपमा बढ्ने सम्भावना छ। नदी तटीय क्षेत्र र ससाना खोला आसपास बस्ने बासिन्दालाई विशेष सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

Skip This