काठमाडौं-नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नवयुवाको भावना र आकांक्षालाई आत्मसात् गर्दै मुलुकलाई सही दिशामा अघि बढाउन एमाले प्रतिबद्ध रहेको बताएका छन्।
एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सूचना प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र विकासले अवसरसँगै चुनौती पनि सिर्जना गरेको बताए। उनले समाजमा सही मूल्य-मान्यता स्थापित गर्ने क्रममा सूचना प्रविधिको दुरुपयोग हुन सक्ने खतरा रहेको उल्लेख गरे।
महासचिव पोखरेलले एमाले समयानुकूल रूपमा आफूलाई अद्यावधिक गर्न सक्ने पार्टी भएको दाबी गर्दै नयाँ पुस्तासँग सहकार्य गरेर देश निर्माणको अभियानलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे। ‘हामी नवयुवाहरूको भावना आत्मसात् गर्दै मुलुकलाई सही दिशातर्फ अघि बढाउन प्रतिबद्ध छौँ। आजका चुनौतीहरूको सामना गर्न नयाँ पुस्तासँग हातेमालो गर्न एमाले तयार छ,’ महासचिव पोखरेलले भने।
महासचिव पोखरेलले पछिल्लो समय समाजमा ‘लोकप्रियतावाद’ र ‘अवसरवाद’को बाढी आएको र यसले सिंगो समाजलाई आक्रान्त बनाएको बताए।
महासचिव पोखरेलले प्रविधिको दुरुपयोगमार्फत समाजमा गलत भाष्य निर्माण गर्न खोजिएको भन्दै चिन्ता व्यक्त गरे। वैचारिक र राजनीतिक हिसाबले समाजलाई दिशानिर्देश गर्नुपर्नेमा सामाजिक सञ्जालको दुरुपयोग गर्दै लोकप्रियतावाद र अवसरवाद हाबी भएको उनको भनाइ छ।
‘पछिल्ला दिनहरूमा हाम्रो समाजमा पपुलिजम र अपर्चुनिजमको जुन प्रकारको बाढी देखा पर्यो, त्यसले सिंगो समाजलाई नै आक्रान्त बनायो,’ महासचिव पोखरेलले भने।
महासचिव पोखरेलले पछिल्लो समय राजनीतिक घटनाक्रमहरूमा सूचना प्रविधि आफैँमा एउटा चुनौती बनिरहेको टिप्पणी गरे। सूचना प्रविधिको सही प्रयोग हुन नसके खराब मानिसहरूको हातबाट यसको दुरुपयोग हुने खतरातर्फ उनले सचेत गराए।
‘कृत्रिम बौद्धिकताको प्रयोग गरिकन खराबलाई असल देखाउने र असललाई खराब देखाउने काम पनि हुँदो रहेछ,’ महासचिव पोखरेलले भने, ‘एल्गोरिदमको खेलमार्फत मानिसको दृष्टिकोणलाई बदल्ने तरिकाबाट प्रविधिको प्रयोग भइरहेको छ, यस्तो अवस्थामा सही सूचना कसरी स्थापित गर्ने भन्ने चुनौती हामी सबैका सामु छ।’
महासचिव पोखरेलले २०८२ भदौ २३ र २४ का घटना तथा फागुन २१ को निर्वाचनजस्ता सन्दर्भलाई जोड्दै सूचना प्रविधिको गलत प्रयोगले असल व्यक्तिलाई खराब र खराब व्यक्तिलाई असल देखाउने अवस्था सिर्जना हुन सक्ने बताए।
‘सूचना प्रविधि आफैंमा अवसर र चुनौती दुवै हो। यसलाई सही ढंगले प्रयोग गर्न सकिएन भने गलत प्रवृत्तिका मानिसहरूले दुरुपयोग गर्ने जोखिम रहन्छ,’ महासचिव पोखरेलले भने।
एआईको विकासले मानव जीवन, उत्पादन प्रणाली तथा उत्पादन सम्बन्धमा पार्ने प्रभावबारे विश्वव्यापी बहस भइरहेको उल्लेख गर्दै उनले नेपाल पनि त्यसबाट अलग रहन नसक्ने बताए। प्रविधिको विकाससँगै उत्पन्न हुने चुनौतीलाई सामना गर्दै त्यसबाट सिर्जना हुने अवसरको अधिकतम उपयोग गर्नुपर्नेमा उनले जोड दिए।



प्रतिक्रिया