अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदीय भूमिकालाई बौद्धिक बनाउन एमालेले विज्ञहरूको ‘रोस्टर’ र ‘क्लस्टर’ बनाउँदै

संसदीय भूमिकालाई बौद्धिक बनाउन एमालेले विज्ञहरूको ‘रोस्टर’ र ‘क्लस्टर’ बनाउँदै


काठमाडौँ-प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले संसदीय गतिविधिलाई थप व्यवस्थित, तथ्यपरक र प्रभावकारी बनाउन विज्ञहरूको ज्ञान, अध्ययन तथा सुझावलाई संस्थागत रूपमा उपयोग गर्ने तयारी गरेको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले संसदीय दलकी उपनेता पदमा अर्यालले यससम्बन्धी कार्ययोजनाबारे जानकारी दिँदै संसद्मा पार्टीको प्रस्तुतिलाई केवल राजनीतिक नभई प्राज्ञिक, बौद्धिक र तथ्यमा आधारित बनाउने लक्ष्य रहेको बताइन्।

उनले राजनीतिक अनुभवले खारिएका नेतृत्व र विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तित्वबीचको संयोजनबाट पार्टीले प्रभावकारी मार्गदर्शन प्राप्त गर्ने विश्वास व्यक्त गरिन्।

अर्यालका अनुसार पार्टीले विज्ञहरूको रुचि र विशेषज्ञताका क्षेत्र पहिचान गर्न फारम उपलब्ध गराउनेछ। त्यसका आधारमा विज्ञहरूको ‘रोस्टर’ तयार गरी विषयगत ‘क्लस्टर’ बनाएर नियमित छलफल तथा सुझाव सङ्कलन गरिनेछ।

संसद्मा सांसदहरूले उठाउने विषयलाई थप तथ्यपरक र प्रभावकारी बनाउन ‘इस्यु कलेक्सन सेन्टर’ (मुद्दा सङ्कलन केन्द्र) समेत स्थापना गरिने उनले जानकारी दिइन्। उक्त केन्द्रले जनस्तरका समस्या, सामाजिक मुद्दा तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय घटनाक्रमको अध्ययन गरी तथ्य सङ्कलन गर्नेछ, जसले सांसदहरूलाई सदनमा प्रभावकारी ढंगले धारणा राख्न सहयोग पुग्ने विश्वास गरिएको छ।

अर्यालले जनताका समस्या र आवाजलाई सरकारसम्म पुर्‍याउने, सामाजिक मुद्दालाई प्रभावकारी रूपमा उठाउने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा पार्टीको स्पष्ट धारणा निर्माण गर्ने तथा सरकारलाई आवश्यक खबरदारी गर्न तथ्यमा आधारित बहस आवश्यक रहेको बताइन्।

उनले पार्टी निर्माण र संसदीय भूमिकालाई थप सशक्त बनाउन विज्ञहरूको ज्ञान, अध्ययन र अनुसन्धानलाई उपयोग गर्नु आवश्यक रहेको उल्लेख गर्दै संसद्का बहस, तर्क र नीति निर्माणलाई थप प्राज्ञिक, बौद्धिक र तथ्यमा आधारित बनाउन विज्ञ समुदायको सहयोग अपेक्षा गरिएको बताइन्।

उपनेता अर्यालले जनताको आवाज सरकारसम्म प्रभावकारी रूपमा पुर्‍याउन र सरकारका गलत कदमप्रति खबरदारी गर्दै सही मार्गमा ल्याउन एमालेको भूमिका अझ प्रखर हुनुपर्ने धारणा व्यक्त गरिन्। साथै पार्टीको दृष्टिकोणलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न विज्ञहरूको सुझाव अपरिहार्य रहने उनको भनाइ थियो।

Skip This