रामेछाप-नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस बिहीबार उनको जन्मथलो रामेछापको भँगेरीमा श्रद्धापूर्वक मनाइएको छ।
नेकपा एमाले रामेछापको आयोजनामा सम्पन्न कार्यक्रममा भँगेरीस्थित शहीद गंगालाल तथा पुष्पलाल श्रेष्ठको सालिकामा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरिएको एमाले रामेछापका सचिव प्रकाशकुमार कार्कीले जानकारी दिए।
कार्यक्रम एमाले रामेछापका कार्यवाहक अध्यक्ष होतराज ढकालको अध्यक्षता तथा एमाले केन्द्रीय सदस्य एवं रामेछाप जिल्ला इञ्चार्ज माधव ढुङ्गेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ढुङ्गेलले पुष्पलाललाई दूरदर्शी राजनीतिक नेता भएको उल्लेख गरे। नेपालमा लोकतन्त्र स्थापना र राजनीतिक परिवर्तनका लागि कम्युनिष्ट तथा कांग्रेसबीच सहकार्य आवश्यक रहेको पुष्पलालको विचारकै आधारमा बहुदलीय व्यवस्था र गणतन्त्रको स्थापना सम्भव भएको उनले बताए।
उनले तत्कालीन समयमा वाम–लोकतान्त्रिक गठबन्धनको पक्षमा उभिँदा पुष्पलालले आलोचना खेप्नुपरे पनि समयसँगै उनको राजनीतिक दृष्टिकोण सही साबित भएको बताए। वर्तमान राजनीतिक परिस्थितिमा पनि वामपन्थी शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो।
ढुङ्गेलले एमालेले वामपन्थी, लोकतान्त्रिक तथा संविधान निर्माणमा भूमिका खेलेका शक्तिहरूबीच सहकार्य र एकताको पक्षमा रहेको स्पष्ट पार्दै राष्ट्रिय हित, विकास र समृद्धिका लागि पार्टी आवश्यक रूपान्तरण गर्न तयार रहेको बताए।
कार्यक्रममा एमालेका प्रदेश कमिटी, जिल्ला कमिटी, जनसंगठन, स्थानीय तह तथा वडा तहका नेताहरू, जनप्रतिनिधि र कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो।
यसैबीच, पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल जनवादी गणतन्त्र चीनको मैत्रीपूर्ण निमन्त्रणामा एक साताव्यापी भ्रमणका लागि बिहीबार चीन प्रस्थान गरेका छन्। भ्रमणका क्रममा उनले नेपाल–चीन द्विपक्षीय सम्बन्ध, पारस्परिक हित, मैत्री तथा सहयोगका विविध विषयमा चिनियाँ नेतृत्वसँग छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ।






प्रतिक्रिया