अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नयाँ र पुराना दल’को भाष्य गलत, समाजमा विभाजन निम्त्याउने खतरा छ: केपी ओली

नयाँ र पुराना दल’को भाष्य गलत, समाजमा विभाजन निम्त्याउने खतरा छ: केपी ओली


काठमाडौं-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दललाई ‘नयाँ’ र ‘पुराना’ भनेर विभाजन गर्ने भाष्य गलत भएको बताएका छन्। अध्यक्ष ओलीले यस्तो प्रवृत्तिले समाजमा अनावश्यक विभाजन सिर्जना गर्ने चेतावनी दिएका छन्।

४८ औं पुष्पलाल श्रेष्ठको स्मृति दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले धर्मका नाममा समाजलाई विभाजित गर्ने प्रयास विफल भएपछि अहिले राजनीतिक दललाई नयाँ र पुराना भनेर छुट्याउने प्रयास भइरहेको टिप्पणी गरे।

‘हिजाेआज नयाँ र पुराना दलको भाष्य गलत छ। धर्मका नाममा फुटाउन पनि खोजिएको थियो। अहिले नयाँ र पुरानाको विभाजन गर्न खोजिएको छ। घरघरमा विभाजन हुने भयो, बाउ–आमा र छोराछोरीबीच पनि विभाजन हुने अवस्था आउन सक्छ,’ अध्यक्ष ओलीले भने।

अध्यक्ष ओलीले विश्वका विकसित लोकतान्त्रिक मुलुकहरूमा समेत लामो इतिहास भएका दलहरूले नै राजनीतिक नेतृत्व गरिरहेको उदाहरण दिए। ‘अमेरिकामा डेमोक्रेटिक र रिपब्लिकन पार्टी छन्। पार्टी पुराना वा नयाँ हुने होइनन्, परिवर्तनशील र जनताको आवश्यकताअनुसार काम गर्ने हुनुपर्छ,’ अध्यक्ष ओलीले बताए।

अध्यक्ष ओलीले नेपालका राजनीतिक दलहरूले देशको इतिहास, समाज र आवश्यकतालाई नजिकबाट बुझेको उल्लेख गर्दै लोकतन्त्रको सुदृढीकरणका लागि दलहरूलाई बलियो र उत्तरदायी बनाउनुपर्ने धारणा व्यक्त गरे।

Skip This