काठमाडौँ-नेकपा (एमाले) का नेता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संविधान संशोधनका नाममा भइरहेका गतिविधिले मुलुकलाई भूराजनीतिक भुमरीमा धकेल्ने जोखिम बढाएको बताएका छन्।
४८औँ पुष्पलाल स्मृति दिवसको सन्दर्भमा पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै नेता ज्ञवालीले संविधानका आधारभूत व्यवस्थामाथि हस्तक्षेप गर्ने प्रयास भइरहेको दाबी गरे। उनले जनता सचेत नभए संविधान र लोकतान्त्रिक उपलब्धिहरूमाथि नै चुनौती उत्पन्न हुन सक्ने चेतावनी दिए।
‘संविधान संशोधनका नाममा आज जे हुँदैछ, फन्डामेन्टल कुराहरूलाई नै कैँची लगाउने काम भएको छ। यसले मुलुकलाई अत्यन्तै अप्ठेरो अवस्थामा लगेको छ भनेर बुझ्न सकिन्छ’, नेता ज्ञवालीले भने, ‘उपलब्धिहरू धरापमा परेको भनेर बुझ्नुपर्छ।’
त्यस्तै उनले शक्ति सन्तुलन प्रतिकूल भएको भन्दै संविधान निर्माणमा मुख्य भूमिका खेल्ने तीन वटा पार्टी सबै मिल्दा पनि प्रतिनिधि सभामा सत्तापक्षलाई रोक्न सक्ने क्षमता नभएको बताए।
नेता ज्ञवालीले भने, ‘शक्ति सन्तुलन एकदमै प्रतिकूल भएको छ। संविधान निर्माणमा मुख्य भूमिका खेल्ने तीनवटा पार्टीहरू मिल्दा पनि प्रतिनिधि सभामा हामीले उनीहरूका प्रयत्नहरूलाई रोक्न सक्दैनौँ। एक तिहाइ हाम्रो सङ्ख्या छैन। राष्ट्रिय सभा छ, त्यसले ब्यालेन्स गर्ला, आशा गरौँ।’
उनले राष्ट्रिय सभाले केही सन्तुलन कायम गर्न सक्ने आशा व्यक्त गर्दै प्रतिकूल वा प्रतिगामी संशोधन रोक्न नागरिकको सक्रिय भूमिका आवश्यक रहेको बताए। साथै, विदेशी गतिविधि, ‘फ्रि तिब्बत’ अभियान, विभिन्न अन्तर्राष्ट्रिय भ्रमण तथा प्रधानमन्त्रीले संसद्मा दिएको अभिव्यक्तिलगायत घटनाक्रमलाई उनले मुलुकलाई भूराजनीतिक जोखिमतर्फ धकेल्ने संकेतका रूपमा व्याख्या गरे।संविधानमा हुने प्रतिकूल संशोधनलाई प्रतिगामी संशोधनलाई रोक्न नसक्ने तहसम्म पुगेको बताए।
‘राष्ट्रिय सभा छ, तर जनता सजग नहुने हो भने प्रतिगामी संशोधन रोक्न सकिँदैन’, उनले भने, ‘भूराजनीतिक भुमरीमा धकेल्ने पश्चिमाको भ्रमण, फ्रि तिब्बत गतिविधि र प्रधानमन्त्रीले संसदमा उभिएर नेपालले भारतको जमिन मिचेको छ भनेका लगायत घटनाक्रमलाई भूराजनीतिक जोखिममा धकेल्ने प्रयासका रूपमा बुझ्न सकिन्छ’, उनले भने, ‘नागरिकका अधिकार लगातार खोसिँदै गएका छन् ।’
उनले प्रधानमन्त्रीले संसद्मा उभिएर आत्मघाती अभिव्यक्ति दिएकाले नेपाल भूराजनीतिक भुमरीमा धकेलिन सक्ने बताए।
मुलुकका साझा मुद्दामा कम्युनिस्टहरू एक भएर र सहकार्यको हात अघि बढाएर मात्र प्रतिवाद गर्न सकिने पूर्वमन्त्री ज्ञवालीको भनाइ छ ।






प्रतिक्रिया