अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनसरीको देवानगञ्जमा दुई समुहबीच झडप,एकको मृत्यु प्रहरी सहित १३ जना घाइते

सुनसरीको देवानगञ्जमा दुई समुहबीच झडप,एकको मृत्यु प्रहरी सहित १३ जना घाइते


काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगन्जमा आइतबार राति दुई समुदायबीच भएको झडपमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ भने ९ जना सर्वसाधारण र १३ जना सुरक्षाकर्मी गरि २२ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार राति सवा १० बजेतिर साउन महिनामा हुने बोलबमका लागि हिन्दु धर्मावलम्बीहरू कोशी ब्यारेजबाट जल लिएर डिजे बजाउँदै कप्तानगन्ज चोकतर्फ जाने क्रममा डिजेको आवाजलाई लिएर अर्को समुदायका केही व्यक्तिले विरोध जनाएका थिए । त्यसक्रममा दुवै पक्षबीच सुरु भएको भनाभन ठेलाठेलमा परिणत हुँदै झडपमा बदलिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार प्रहरी चौकी कप्तानगन्जबाट प्रहरी निरीक्षक प्रकाशकुमार श्रेष्ठको नेतृत्वमा पुगेको टोलीले दुवै पक्षलाई सम्झाउने प्रयास गरेको थियो । तर, त्यसपछि दुवै समुदायका थप मानिसहरू चिर्पट, ढुंगा, बाँस, लाठी र भालाजस्ता सामग्री बोकेर घटनास्थलमा पुगेपछि अवस्था थप तनावग्रस्त बनेको थियो ।

झडपका क्रममा इलाका प्रहरी कार्यालय देवानगञ्ज, प्रहरी चौकी घुस्की, साहेबगञ्ज तथा सशस्त्र प्रहरीको टोलीसमेत घटनास्थलमा पुगेको थियो । दुवै पक्षबाट ढुंगामुढा हुन थालेपछि इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रहरी निरीक्षक राकेश राईसहित ८ जना नेपाल प्रहरीका कर्मचारी घाइते भएका थिए । त्यसपछि प्रहरी निरीक्षकसँग रहेको पेस्तोलबाट तीन राउन्ड हवाई फायर गरिएको सुनसरी प्रहरीले जनाएको छ ।

त्यसपछि राति करिब १०स् ४५ बजे घटनास्थलमा रहेको सशस्त्र प्रहरीको टोलीबाट गोली चलेको प्रहरीको प्रारम्भिक विवरणमा उल्लेख भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काले जानकारी दिए । गोली चलेको कारण र कति राउन्ड प्रहार गरिएको भन्नेबारे विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

गोली लागेर घाइते भएका देवानगञ्ज गाउँपालिका–४ का ३० वर्षीय ओमप्रकाश मेहताको उपचारका लागि विराटनगर लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा देवानगञ्ज–३ का २० वर्षीय जयप्रकाश मेहता गम्भीर घाइते भएका छन् । त्यस्तै मिथलेश यादव, अमलेश मेहता, मिथलेश मेहता, अमितकुमार यादव, रविन्द्र मेहता, अर्का अमितकुमार यादव तथा सुनिलकुमार मेहताको उपचार विराटनगरस्थित न्युरो अस्पताल र विराट नर्सिङ होममा भइरहेको प्रहरीले जनाएको छ ।

झडपमा नेपाल प्रहरीतर्फ प्रहरी निरीक्षक राकेश राईसहित ८ जना प्रहरी घाइते भएका छन्। प्रहरी निरीक्षक राईको टाउकोमा ५ टाँका लगाइएको छ । अन्य घाइते प्रहरीको अवस्था सामान्य रहेको जनाइएको छ । सशस्त्र प्रहरीतर्फ पनि ५ जना घाइते भएको प्रारम्भिक जानकारी आएको छ भने उनीहरूको नामावली संकलन भइरहेको प्रहरीले जनाएको छ । घटनापछि कोशी प्रदेश प्रहरी गण, नेपाल प्रहरी विशेष सुरक्षा गण, जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय इटहरी, दुहबी, लौकही, हरिनगरा, नरसिंह र शिसुवा धरमपुरबाट गरी २११ जना नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका १६५ जना अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको छ ।

Skip This