अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनसरी घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन

सुनसरी घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन


काठमाडौं-सरकारले सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच भएको झडपको घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ।

सोमबार गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा बसेको बैठकले गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको हो। समितिलाई घटनाबारे अध्ययन गरी एक साताभित्र प्रतिवेदन पेश गर्न समयसीमा दिइएको छ।

समितिमा सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछाने सदस्य-सचिव रहनेछन्। साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा ऊर्जा मन्त्रालयका प्रतिनिधिहरू पनि सदस्यका रूपमा रहने गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले जानकारी दिएका छन्।

गृह मन्त्रालयमा सोमबार बिहान ९ बजेदेखि भएको बैठकमा गृह सचिवसहित नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेल लगायत सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए। घटनाबारे थप समीक्षा गर्न सोमबार साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक पनि बोलाइएको छ।

आइतबार राति देवानगञ्ज–३ को कप्तानगञ्जमा दुई समुदायबीच भएको विवाद नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा ओमप्रकाश मेहताको मृत्यु भएको थियो। घटनापछि स्थानीय प्रशासनले प्रभावित क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ।

प्रारम्भिक जानकारीअनुसार मन्दिरमा ठूलो स्वरमा डिजे बजाइएको विषय र त्यसअघि सो क्षेत्रमा रहेको बिजुलीको पोलमा राखिएको मुस्लिम समुदायको झण्डा हटाएर हिन्दु समुदायको झण्डा राखिएको विषयलाई लिएर विवाद सुरु भएको थियो। विवाद उग्र बनेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन बल प्रयोग गरेको थियो।

सरकारले घटनाको वास्तविक कारण, सुरक्षा व्यवस्थापन तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझावसहित प्रतिवेदन पेश गर्न छानबिन समितिलाई जिम्मेवारी दिएको जनाएको छ।

Skip This