काठमाडौं-नेपाल एलपी ग्यास उद्योग संघले बजारमा देखिएको खाना पकाउने ग्यासको अस्थायी अभाव जगेडाका सिलिन्डर एकैपटक भर्न ल्याइएकाले भएको भन्दै उपभोक्तालाई आवश्यकताभन्दा बढी सिलिन्डर भण्डारण नगर्न आग्रह गरेको छ।
संघका अध्यक्ष दिवान चन्दले भारतबाट हुने ग्यास आयात नियमित रहेको र दैनिक विगतकै हाराहारीमा करिब सय बुलेट ग्यास नेपाल भित्रिरहेको बताए। उनका अनुसार नेपाल आयल निगममार्फत ल्याइने ग्यासको परिमाणमा कुनै कमी नभएकाले आपूर्तिमा समस्या नभएको स्पष्ट पारे।
उनले उपभोक्ताले अतिरिक्त सिलिन्डर मौज्दात राख्न थालेपछि बजारमा कृत्रिम अभावको अवस्था देखिएको बताए। ‘उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास जगेडा नराख्ने हो भने अहिले देखिएको समस्या सहज रूपमा समाधान हुन्छ,’ अध्यक्ष चन्दले भने।
संघका सदस्य विमल कालाखेतीले आधा सिलिन्डर ग्यास वितरणको व्यवस्थालाई समयमै प्रभावकारी बनाउन नसक्दा अहिलेको अवस्था सिर्जना भएको बताए। सामान्य अवस्थाको मागअनुसार पर्याप्त ग्यास आपूर्ति भइरहेकाले दीर्घकालीन समस्या नहुने उनको भनाइ छ।
हाल देशभर करिब एक करोड ५० लाख ग्यास सिलिन्डर चलनचल्तीमा रहेका छन्। तीमध्ये करिब ५० लाख सिलिन्डर विभिन्न ग्यास डिपोमा रहेको संघले जनाएको छ। सरकारले गत फागुन २८ गतेदेखि आधा सिलिन्डर ग्यास वितरणको व्यवस्था लागू गरेको थियो। नेपालमा हाल ५९ वटा एलपी ग्यास उद्योग सञ्चालनमा छन्।






प्रतिक्रिया