काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरीको देवानगञ्ज नगरपालिका-३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्। शान्ति-सुरक्षा कायम गर्न नसक्नु गृह मन्त्रालयको गम्भीर कमजोरी भएको भन्दै उनले गृहमन्त्रीले घटनाबारे जवाफ दिनुपर्ने बताएका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै आङ्देम्बेले घटनामा दुई जनाको मृत्यु हुनुका साथै दर्जनौँ व्यक्ति घाइते भएकोप्रति दुःख व्यक्त गरेका छन्। उनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
आङ्देम्बेले सरकारले आफ्नो संवैधानिक दायित्वअनुसार शान्ति-सुरक्षा कायम गर्न नसकेको आरोप लगाएका छन्। उनले भने, ‘शान्ति, सुव्यवस्था कायम गर्न नसक्नु गृह मन्त्रालयको गम्भीर कमजोरी हो। यो घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ र तत्काल गृहमन्त्रीले यसको जवाफ दिनुपर्छ।’
पछिल्लो समय सरकारप्रति नागरिकमा असन्तोष बढ्दै गएको उल्लेख गर्दै उनले आत्मदाहजस्ता भयावह घटना तथा सामाजिक सद्भाव र शान्ति-सुरक्षासँग सम्बन्धित संवेदनशील घटनाहरू बारम्बार दोहोरिनु सरकार जिम्मेवारीपूर्वक काम गर्नबाट चुकेको संकेत भएको बताएका छन्। साथै, संवेदनशील परिस्थितिमा जिम्मेवार व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत असहिष्णुता फैलाउने गतिविधि नगर्न पनि उनले आग्रह गरेका छन्।
आङ्देम्बेले हिंसा, आगजनी, तोडफोड र प्रतिशोधबाट कुनै पनि समस्याको समाधान नहुने भन्दै सबै पक्षलाई उच्चतम संयमता अपनाउन आग्रह गरेका छन्। सुरक्षाकर्मीले पनि कानुनको पालना गर्दै अधिकतम संयमसाथ शान्ति र सुरक्षाको वातावरण कायम गर्नुपर्ने उनको भनाइ छ।
उनले घटनाको निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा दोषीमाथि कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेका छन्। साथै, कुनै पनि उक्साहट वा अफवाहको पछि नलागी संवाद, सहिष्णुता र कानुनी प्रक्रियामार्फत समस्याको समाधान खोज्न सबैमा अपिल गरेका छन्।






प्रतिक्रिया