सुनसरी- जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले साेबार राति जारी गरेको आदेशअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम २०८३ साउन ११ गते राति ९:०० बजेदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको हो।
कर्फ्यु आदेशअनुसार देवानगञ्ज क्षेत्रको शान्ति–सुरक्षा कायम राख्न तथा कुनै पनि प्रकारका अवाञ्छित गतिविधि रोक्न उक्त क्षेत्रमा हिँडडुल, प्रदर्शन, सभा, भेला तथा आवतजावतमा पूर्ण प्रतिबन्ध लगाइएको हो।
कर्फ्यु आदेश उल्लङ्घन गर्ने व्यक्तिलाई प्रचलित कानुनबमोजिम एक हजार रुपैयाँसम्म जरिवाना वा एक महिनासम्म कैद सजाय, वा दुवै सजाय हुन सक्ने प्रशासनले चेतावनी दिएको छ।
प्रशासनले कर्फ्यु लागू गरिएको क्षेत्रको सीमा पनि तोकेको छ। पूर्वतर्फ इनरुवा नगरपालिका–३ र ६ को सीमा (महेन्द्र राजमार्गअन्तर्गतको घोषपोली टोल), पश्चिमतर्फ कोशी ब्यारेजको पुल तथा उत्तर र दक्षिणतर्फ महेन्द्र राजमार्गदेखि २०० मिटर क्षेत्रभित्र कर्फ्यु लागू हुने जनाइएको छ।
जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न तथा शान्ति–सुरक्षा कायम राख्न प्रशासनलाई सहयोग गर्न आग्रह गरेको छ।







प्रतिक्रिया