जनकपुरधाम-सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको घटनाको विरोधमा सिरहामा प्रदर्शन गरिएको छ।
मंगलबार सिरहाको गोलबजार नगरपालिका–८ स्थित पुरानो चोक (चोहर्वा) मा स्थानीयले निष्पक्ष छानबिन, घटनामा संलग्नमाथि कानुनी कारबाही तथा प्रहरी दमन अन्त्यको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका हुन्। प्रदर्शनका क्रममा प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामाको समेत मागेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार प्रदर्शनका कारण करिब आधा घण्टा राजमार्ग अवरुद्ध भएको थियो। आन्दोलनकारीसँग छलफलपछि सडक पुनः सञ्चालनमा आएको प्रहरीले जनाएको छ।
यसअघि सोमबार पनि सिरहाको कर्जन्हा नगरपालिका–बन्दीपुर, गोलबजारको गोलपार्क तथा धनगढीमाई नगरपालिका–८ स्थित कसहा चोकमा विरोध प्रदर्शन गरिएको थियो।
यता, सुनसरीको देवानगञ्जमा आइतबार राति भएको घटनाको विरोध मंगलबार पनि जारी रहेको छ। देवानगञ्जको लौकी र फूलचोक क्षेत्रमा प्रदर्शनकारीहरूले टायर बालेर सडक अवरुद्ध गरेका छन्।
आइतबार राति दुई समूहबीच उत्पन्न तनाव नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली चलाउँदा ओमप्रकाश मेहताको मृत्यु भएको थियो। त्यसयता स्थानीयले लगातार प्रदर्शन गर्दै सडक अवरुद्ध गर्दै आएका छन्। सोमबार दिनभर विभिन्न स्थानमा प्रदर्शन भएपछि अवस्था नियन्त्रणमा लिन सुनसरीमा नेपाली सेना परिचालन गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काका अनुसार मंगलबार बिहानसम्म अवस्था सामान्य रहे पनि त्यसपछि २०–२५ जनाको समूहले लौकी र फूलचोक क्षेत्रमा टायर बालेर मुख्य सडक अवरुद्ध गरेको हो।
घटनापछि जिल्लाको शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउन प्रशासनिक नेतृत्वसमेत परिवर्तन गरिएको छ। संखुवासभाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याललाई सुनसरीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ भने नयाँ प्रहरी प्रमुख (एसपी) पनि जिल्लामा पुग्ने क्रममा रहेको प्रहरीले जनाएको छ।
नयाँ नेतृत्व आएसँगै जिल्लाको अवस्था सामान्य बनाउन सर्वदलीय बैठक तथा जिल्ला शान्ति सुरक्षा समितिको बैठक बोलाउने तयारी भइरहेको स्थानीय प्रशासनले जनाएको छ।






प्रतिक्रिया