धादिङ-काठमाडौँ आवतजावत गर्ने प्रमुख सडक पृथ्वी राजमार्ग आज राति ६ घण्टाका लागि बन्द हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङले सोमबार सूचना जारी गर्दै गजुरी गाउँपालिका–५ स्थित गलौँदी क्षेत्रमा सडक मर्मतसम्भार गर्न राति ११ बजेदेखि मंगलबार बिहान ५ बजेसम्म राजमार्ग बन्द गरिने जनाएको हो।
त्रिशूली नदीको कटानका कारण गलौँदीमा सडक भासिएपछि थप मर्मतसम्भार गर्नुपर्ने भएकाले यातायात सञ्चालनमा रोक लगाउन लागिएको प्रशासनले जनाएको छ।
गत शुक्रबार साँझ त्रिशूली नदीले कटान गर्दा सडकको करिब सय मिटर भाग चर्किएको थियो भने करिब २० मिटर सडक भासिएको थियो। त्यसपछि शुक्रबार साँझदेखि आइतबार दिउँसोसम्म पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो।
भासिएको स्थानमा डाइभर्सन निर्माण गरी सडक सञ्चालनमा ल्याइएपछि आइतबार अपराह्नदेखि राजमार्गमा दुईतर्फी सवारीसाधन चल्न थालेका छन्। भासिएको स्थानको माथिल्लो भाग कटान गरेर यातायात सञ्चालनमा ल्याइएको भए पनि थप मर्मतसम्भार गर्न राजमार्ग बन्द गर्न लागिएको हो।
निर्धारित समयमा सडक बन्द हुने भएकाले काठमाडौँ आवतजावत गर्ने यात्रु तथा सवारीचालकलाई समय मिलाएर यात्रा गर्न आग्रह गरिएको छ।




प्रतिक्रिया