काठमाडौँ-सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनाको विरोधमा हिन्दुवादी समूहले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
साउने सोमबारका अवसरमा बोलबम यात्राका लागि डिजे बजाउँदै सप्तकोसी नदीतर्फ जाने तयारीका क्रममा दुई समूहबीच विवाद भएपछि झडप भएको थियो। झडप नियन्त्रणमा लिन र स्थिति सामान्य बनाउन प्रहरीले हस्तक्षेप गरेको थियो।
घटना नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो। उक्त घटनाप्रति असन्तुष्टि जनाउँदै प्रदर्शनकारीहरू माइतीघरमा भेला भएर दोषीमाथि कारबाही र घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्।
प्रदर्शनका क्रममा सहभागीहरूले सुनसरी घटनामा ज्यान गुमाएका व्यक्तिलाई न्याय दिनुपर्ने, दोषीमाथि कडा कारबाही गर्नुपर्ने तथा धार्मिक स्वतन्त्रताको संरक्षण गर्नुपर्ने माग राखेका थिए। प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रहरीले जनाएको छ।







प्रतिक्रिया