अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पद्मा अर्यालको प्रश्न– निष्पक्ष निर्वाचन र विदेशमा मतदानको पूर्वाधार कसरी बनाउने?

पद्मा अर्यालको प्रश्न– निष्पक्ष निर्वाचन र विदेशमा मतदानको पूर्वाधार कसरी बनाउने?


काठमाडौँ-नेकपा एमालेकी सांसद पद्मा अर्यालले निर्वाचनको निष्पक्षता कायम राख्नु नै अहिलेको प्रमुख चुनौती भएको बताएकी छन्। प्रस्तावित निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेको संसदीय सुनुवाइका क्रममा बोल्दै उनले निर्वाचन प्रणालीको विश्वसनीयता, आर्थिक चलखेल नियन्त्रण तथा विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्ने विषयमा जिज्ञासा राखिन्।

सुनुवाइका क्रममा अर्यालले निर्वाचनमा हुने आर्थिक प्रभाव, शक्ति प्रदर्शन र धाँधलीका आशङ्काले निर्वाचनको स्वच्छतामाथि प्रश्न उठ्ने गरेको उल्लेख गर्दै यस्ता चुनौतीलाई कसरी व्यवस्थापन गरेर निष्पक्ष निर्वाचन सुनिश्चित गर्न सकिन्छ भन्नेबारे प्रस्तावित आयुक्तसँग स्पष्ट योजना मागिन्। उनले निर्वाचनलाई वास्तवमै निष्पक्ष बनाउन आयोगले अपनाउने मोडेलबारे पनि प्रश्न उठाइन्।

सांसद अर्यालले निर्वाचनको स्वच्छतामाथि उठ्ने गरेका प्रश्नहरूबारे चासो व्यक्त गर्दै भनिन्, ‘आजको प्रमुख चुनौती भनेकै निष्पक्ष निर्वाचन सम्पन्न गर्नु हो। निर्वाचनमा हुने आर्थिक चलखेल, शक्ति प्रदर्शन र धाँधलीका आशङ्काहरूलाई चिर्दै यसलाई कसरी वास्तवमै निष्पक्ष बनाउनुहुन्छ? यसको व्यवस्थापनका लागि तपाईँसँग के कस्तो मोडेल छ ?’

विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने विषयमा पनि अर्यालले व्यावहारिक पक्षबारे चासो व्यक्त गरिन्। वाग्लेले आफ्नो कार्ययोजनामा विदेशस्थित नेपालीलाई मताधिकार दिने विषय समेटेपछि उनले त्यसका लागि आवश्यक बजेट, स्रोत व्यवस्थापन तथा विभिन्न मुलुकमा मतदान सञ्चालन गर्न आवश्यक पूर्वाधारबारे प्रश्न गरिन्।

 ‘विदेशमा निर्वाचन गराउने कुरा सुन्दा राम्रो छ, तर यसको खर्च व्यवस्थापन कसरी हुन्छ ? कुन स्रोतबाट बजेट जुट्छ ? साथै, लाखौँ नेपाली छरिएर रहेका मुलुकहरूमा कस्तो किसिमको पूर्वाधारबाट मतदान सम्भव हुन्छ ? के हामीसँग त्यसको प्राविधिक र भौतिक तयारी छ,’ अर्यालले भनिन् । 

त्यस्तै, वर्तमान निर्वाचन कानुनमा रहेका कमजोरी र व्यावहारिक जटिलताबारे पनि अर्यालले ध्यानाकर्षण गराउँदै कानुनी छिद्रका कारण निर्वाचन महँगो र जटिल बन्दै गएको बताइन्। उनले समयसापेक्ष सुधारका लागि प्रस्तावित आयुक्तसँग ठोस योजना र सुधारका बुँदाबारे जानकारी मागेकी छन्।

‘कानुनमा रहेका छिद्रहरूका कारण निर्वाचन महँगो र जटिल बन्दै गएको छ, यसलाई परिमार्जन गर्ने तपाईँका ठोस बुँदाहरू के–के हुन् ? अर्यालले प्रश्न गरिन् 

Skip This