काठमाडौं-जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका संवेदनशील क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न कर्फ्यु क्षेत्र विस्तार गरेको छ।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा जारी आदेशअनुसार २०८३ साउन १२ गते दिउँसो ३ः३० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि महेन्द्र राजमार्ग आसपासका तोकिएका क्षेत्र र इनरुवा बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु लागू गरिएको हो।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी आदेशमा पूर्वतर्फ पकली चोकसम्म, पश्चिमतर्फ कोसी ब्यारेजको पुलसम्म तथा उत्तर र दक्षिणतर्फ महेन्द्र राजमार्गबाट २०० मिटर क्षेत्रभित्र कर्फ्यु लागू हुने उल्लेख गरिएको छ। कर्फ्यु अवधिभर उक्त क्षेत्रमा आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न पूर्ण प्रतिबन्ध लगाइएको प्रशासनले जनाएको छ।
यसअघि सोमबार राति ९ बजेदेखि पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा लगाइएको कर्फ्यु राति साढे १२ बजेदेखि हटाइए पनि हरिनगर, भुटाहा, कप्तानगञ्ज, भुस्की र देवानगञ्ज बजार क्षेत्रमा भने अर्को सूचना जारी नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु कायमै राखिएको छ।
त्यसैगरी हरिनगर र देवानगञ्ज गाउँपालिकाभर जारी गरिएको निषेधाज्ञालाई पनि निरन्तरता दिइएको प्रशासनले जनाएको छ। हालको अवस्थालाई ध्यानमा राख्दै प्रशासनले सर्वसाधारणलाई कर्फ्यु र निषेधाज्ञाको पूर्ण पालना गर्न तथा शान्ति सुरक्षा कायम राख्न सहयोग गर्न आग्रह गरेको छ।







प्रतिक्रिया