अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनसरी घटनापछि सरकारको अपिल: संयमता अपनाऔं, सद्भाव जोगाऔं

सुनसरी घटनापछि सरकारको अपिल: संयमता अपनाऔं, सद्भाव जोगाऔं


काठमाडौं-नेपाल सरकारले धार्मिक एवम् साम्प्रदायिक सहिष्णुता कायम गर्न सबैसँग अपिल गरेको छ। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मंगलबार विज्ञप्ति प्रकाशित गरी सामाजिक सद्भाव खलबलिने तथा धार्मिक एवम् साम्प्रदायिक सहिष्णुतामा खलल पुग्ने गतिविधिमा संलग्न नहुन आग्रह गरेको छ।

‘नेपाली समाजले सदियौंदेखि अवलम्बन गरेको धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भाव कायम राख्दै यसलाई खलबल्याउने र धार्मिक एवं साम्प्रदायिक सहिष्णुतामा खलल पुऱ्याउने गतिविधिमा संलग्न नहुन, उत्तेजना वा भ्रामक सूचना नफैलाउन र त्यस्ता भ्रामक सूचनाबाट प्रभावित नभई उच्च संयमता अपनाउन सम्वद्ध पक्षहरूमा नेपाल सरकार हार्दिक अपिल गर्दछ’ विज्ञप्तिमा भनिएको छ।

यही साउन १० गते सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको घटना र तत्पश्चात् पूर्वी नेपालका केही जिल्लाहरूमा उत्पन्न परिस्थितिप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ। 

घटनाका क्रममा घाइते हुनेहरूको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाइएको विज्ञप्तिमा जनाइएको छ।

यस्तै, उक्त घटनाको सम्बन्धमा सत्यतथ्य छानबिन गरी आगामी दिनमा यस किसिमका घटना हुन नदिन अवलम्बन गर्नु पर्ने उपायहरू सहित सात दिनभित्र प्रतिवेदन पेस गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरी उक्त समितिले कार्य प्रारम्भ गरिसकेको पनि प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदका प्रवक्ता सहसचिव हेमराज अर्यालद्वारा जारी विज्ञप्तिमा उक्त घटनाका पीडित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र दोषीउपर कडा कानूनी कारबाही गर्न नेपाल सरकार प्रतिवद्ध रहेको जनाइएको छ। 

कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा वा मुठभेडबाट सम्भव नहुने भन्दै मुलुकमा शान्ति सुव्यवस्था र सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक संघ संस्था, आमसञ्चार माध्यम र सम्पूर्ण जनसमुदायमा सरकारले आग्रह गरेको छ।

Skip This