अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भोलि आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने चिकित्सक सङ्घको घोषणा

भोलि आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने चिकित्सक सङ्घको घोषणा


काठमाडौँ-नेपाल चिकित्सक सङ्घले वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमण र अस्पतालमा गरिएको तोडफोडका दोषीमाथि कानुनी कारबाही नभएको भन्दै बुधबार देशभरका अस्पताल, मेडिकल कलेज तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेको छ।

मंगलबार सङ्घको केन्द्रीय कार्यालयमा बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो। सङ्घका अनुसार घटना भएको चार दिन बितिसक्दा पनि दोषीलाई पक्राउ गरी कानुनी कारबाही नगरिएको, बरु न्यायको माग गर्दै गएका चिकित्सकहरूमाथि पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखबाट दुर्व्यवहार भएको भन्दै त्यसप्रति गम्भीर आपत्ति जनाएको छ। सङ्घले उक्त घटनालाई ‘अत्यन्तै लज्जास्पद’ भन्दै सरकारको उदासीनताप्रति असन्तुष्टि व्यक्त गरेको छ।

सङ्घले सार्वजनिक गरेको आन्दोलनका कार्यक्रमअनुसार बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा बन्द रहनेछन्। त्यस्तै, बिहान १० बजे काठमाडौँ उपत्यकाभित्रका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू माइतीघर मण्डलामा भेला भई विरोध प्रदर्शन गर्नेछन्। उपत्यकाबाहिरका चिकित्सकहरूले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने तथा आफू कार्यरत स्वास्थ्य संस्थामा धर्ना दिई विरोध जनाउने कार्यक्रम तय गरिएको छ।

नेपाल चिकित्सक सङ्घका महासचिव डा. विश्वराज दवाडी र अध्यक्ष डा. बद्री रिजालद्वारा जारी विज्ञप्तिमा विशेषज्ञ समाज, निजी स्वास्थ्य संस्था, स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सङ्घ–संस्था तथा सम्पूर्ण चिकित्सक एवं स्वास्थ्यकर्मीलाई आन्दोलनमा ऐक्यबद्धता जनाउन आह्वान गरिएको छ।

सङ्घले आन्दोलनका कारण आम नागरिकमा पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने उल्लेख गरेको छ। यसअघि मंगलबार पनि सङ्घले देशभर ओपीडी सेवा बन्द गरेर विरोध जनाएको थियो।

Skip This