काठमाडौं-नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सुनसरीलगायत देशका विभिन्न स्थानमा पछिल्लो समय घटेका घटनाका विषयमा सरकारले सर्वदलीय बैठक आयोजना नगरेको भन्दै प्रश्न उठाएका छन्।
साउन १३ गते बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सिंहदरबारमा आयोजना गरेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव पोखरेलले यस्ता संवेदनशील विषयमा सरकारले नै अग्रसरता लिएर राजनीतिक दलहरूबीच छलफल गराउनुपर्ने बताएका हुन्।
महासचिव पोखरेलले सरकारले आवश्यक पहल नगरेपछि रास्वपाका सभापतिले बैठक बोलाएको हुनसक्ने उल्लेख गर्दै त्यसलाई सकारात्मक रूपमा लिएको बताए। ‘सर्वदलीय बैठकको आयोजना आफैले गर्नुपर्थ्यो। सरकार तथा प्रधानमन्त्रीले अग्रसरता नलिएकाले होला पार्टी सभापतिले बैठक बोलाउनुभएको होला। यसलाई हामीले सकारात्मक लिएका छौँ ।’
महासचिव पोखरेलले दङ्गा तथा तनावपूर्ण अवस्था नियन्त्रणका लागि बल प्रयोग मात्र पर्याप्त नहुने धारणा राख्दै सुरक्षा निकायको मनोबल उच्च बनाउन आवश्यक रहेको बताए।
‘दङ्गा नियन्त्रण गर्दा बल प्रयोग गरेर मात्र हुँदैन। सुरक्षा निकायको मनोबल खस्किएका बेला यस्ता दुःखद घटना घट्छन्। उनीहरूलाई आवश्यक साधन, स्रोत र समर्थन उपलब्ध गराउनुपर्छ,’ महासचिव पोखरेलले भने।
महासचिव पोखरेलले शान्ति सुरक्षा कायम गर्न सरकार गम्भीर बन्नुपर्ने र सुरक्षा निकायलाई प्रभावकारी रूपमा काम गर्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।


प्रतिक्रिया