काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मुलुकमा पछिल्ला दिनहरूमा देखिएका घटनाक्रम र सामाजिक सद्भाव बिथोलिने खतराप्रति सबै राजनीतिक दलहरू जिम्मेवार भएर उभिनुपर्ने बताएका छन्।
सभापति लामिछाने आह्वान गरेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले साम्प्रदायिक विद्वेष फैलाउने तथा एक समुदायलाई अर्को समुदायविरुद्ध उक्साउने गतिविधि हुन नदिन राजनीतिक दलहरूबीच साझा समझदारी बनेको जानकारी दिए।
बैठकको निष्कर्षबारे जानकारी दिँदै सभापति लामिछाने कुनै पनि साम्प्रदायिक गतिविधिले समाजमा घृणा, द्वेष र आक्रमणको वातावरण सिर्जना गर्ने भएकाले त्यस्ता गतिविधिबाट कसैलाई फाइदा नहुने बताए। यस्ता संवेदनशील घटनामा सबै राजनीतिक दलहरू एकै ठाउँमा उभिएर सामाजिक सद्भाव कायम गर्न प्रतिबद्ध हुनुपर्ने उनको भनाइ थियो।
बैठकको मुख्य निष्कर्षबारे जानकारी दिँदै लामिछानेले भने, ‘कुनै पनि साम्प्रदायिक गतिविधि, जसले एउटा सम्प्रदायले अर्को सम्प्रदायप्रति घृणा, द्वेष र आक्रमण गर्ने स्थिति सिर्जना गर्छ, त्यसले कसैलाई फाइदा गर्दैन । यस्ता घटना हुँदा हामी सबै राजनीतिक दलहरू एकै ठाउँमा उभिनुपर्छ भन्ने महसुस गरेका छौँ ।’
सुनसरीमा एक युवकको मृत्यु भएको घटनाबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा लामिछानेले उक्त घटनालाई अत्यन्त गम्भीर विषयका रूपमा लिँदै सुरक्षा निकाय र प्रशासन जिम्मेवार बन्नुपर्ने बताए। उनले घटनाको वास्तविकता सार्वजनिक हुन समय लाग्ने उल्लेख गर्दै अफवाह र षड्यन्त्रका पछाडि लाग्नुभन्दा निष्पक्ष छानबिनको परिणाम पर्खनुपर्ने धारणा राखे।
सभापति लामिछाने घटनामा संलग्न जोसुकै भए पनि कानुनी कठघरामा ल्याउनुपर्ने र सरकारले निष्पक्ष छानबिन तथा दोषीमाथि कारबाही गर्न ढिलाइ गर्न नहुने बताए। साथै, सामाजिक सद्भाव र कानुनी शासनको रक्षा गर्न सबै पक्ष संयमित र जिम्मेवार बन्नुपर्नेमा उनले जोड दिए।


प्रतिक्रिया