अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकार बन्दुकको गोली, लाठी र स्टाटसमा मात्रै सीमित हुन हुँदैन: गगन थापा

सरकार बन्दुकको गोली, लाठी र स्टाटसमा मात्रै सीमित हुन हुँदैन: गगन थापा

संकटमा सरकार कहाँ छ ? जनताको साथमा देखिनुपर्छ


काठमाडौं-नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीमा विकसित घटनाक्रमप्रति सरकारको भूमिकाबारे गम्भीर प्रश्न उठाएका छन्।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बुधबार बिहान सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति थापाले वर्तमान परिस्थितिमा सरकार प्रभावकारी रूपमा उपस्थित हुन नसकेको टिप्पणी गरे।

‘सरकार कहाँ छ ? के गर्दै छ ? सरकार केवल बन्दुकको गोली र लाठीमा मात्रै भेटिनु हुँदैन, सरकार स्टाटसमा मात्रै सीमित रहनु हुँदैन,’ सभापति थापाले भने।

सभापति थापाले सरकार अभिभावक मात्र नभई नेतृत्वदायी भूमिकामा देखिनुपर्ने उल्लेख गर्दै संकटको समयमा संवाद, समन्वय र सहकार्यको आवश्यकता औंल्याए। उनका अनुसार नेतृत्वको सबैभन्दा ठूलो शक्ति विभिन्न पक्षबीच विश्वास निर्माण गर्नु र सहकार्यको वातावरण सिर्जना गर्नु हो।

सभापति थापाले वर्तमान परिस्थितिमा प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउने, राष्ट्रपतिसँग परामर्श गर्ने, प्रदेश सरकार तथा स्थानीय तहसँग निरन्तर संवाद गर्ने जस्ता पहल गर्नुपर्ने बताए। सरकार बनेको अभिभावक मात्रै नभएर लिडर पनि भएको उनको भनाइ छ।

सभापति थापाले विगतमा पनि विपद् तथा संवेदनशील परिस्थितिमा राजनीतिक दलहरू सिंहदरबारमा एकजुट भएर संवादमार्फत समाधान खोज्ने अभ्यास रहेको स्मरण गराउँदै अहिले पनि त्यही प्रकारको पहल आवश्यक रहेको धारणा व्यक्त गरे।

यस्तो छ थापाको भनाई :

सुनसरीमा भइरहेको पछिल्लो घटनाको सन्दर्भमा प्रमुख राजनीतिक दलहरू सबै एक ठाउँमा बसौँ र एउटा साझा दृष्टिकोण बनाऔँ भनेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सर्वदलीय बैठक आह्वान गरेको छ। उचित समयमा प्रमुख दलको हैसियतमा सबै राजनीतिक दलहरूलाई एक ठाउँमा बोलाउने जुन पहलकदमी रास्वपाले लियो, त्यसका निम्ति हामीले आभार प्रकट गरेका छौँ। यस पहलकदमीका लागि रास्वपा सभापति माननीय रवि लामिछानेलाई धन्यवाद पनि दिन चाहन्छौँ।

यस विषम परिस्थितिमा नेपाली कांग्रेसले निर्वाह गरिरहेको भूमिकाबारे पनि हामीले बैठकमा जानकारी गरायौँ। धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नेपाली समाजको अन्तर्निहित शक्ति हो; यो कसैले दिएको वरदान होइन। यो त वर्षौंदेखि नेपाली नागरिक र समुदायले साझा प्रयत्नबाट आर्जन गरेको पुँजी हो। यस पुँजीलाई हामीले जोगाइराख्नुपर्छ। यसका निम्ति कसैले पनि आवेग र उत्तेजनामा नआई धैर्य र संयमका साथ संवाद गर्नुपर्छ भनेर हामीले आह्वान गरिरहेका छौँ। सार्वजनिक आह्वान मात्र नभई, हामीले हाम्रा पार्टीका साथीहरू र निर्वाचित स्थानीय जनप्रतिनिधिहरूलाई व्यक्तिगत रूपमै टेलिफोन गरेर तथा साना–साना बैठक राख्न लगाएर यो सन्देश सम्प्रेषण गरेको जानकारीसमेत बैठकमा गरायौँ।

अरू दलहरूले पनि यही काम गरिरहनुभएको छ। अब आ–आफ्नो दलले गरेका यी प्रयत्नलाई साझा प्रयत्न बनाऔँ। आज हामीले सामूहिक रूपमा यहीँबाट सबै नागरिक, स्थानीय राजनीतिकर्मी, प्रशासन र प्रेसलाई आह्वान गरौँ भन्ने धारणा नेपाली कांग्रेसको तर्फबाट राखेका छौँ। यसैगरी तल्लो तहमा सुनसरीलगायत अन्य प्रभावित जिल्लाहरूमा पनि यस्तै सर्वदलीय प्रयासहरू गरौँ। विगतका अनुभव हेर्दा कतिपय जिल्लामा अवाञ्छित गतिविधि हुन सक्ने सम्भावना छ। ती ठाउँहरूमा घटना घट्ला र केही गरौँला भनेर नकुरौँ, घटना हुनुअगावै हाम्रो तर्फबाट पूर्वसक्रिय प्रयासहरू गरौँ। यसका निम्ति नेपाली कांग्रेसले आफ्नो तर्फबाट आवश्यक भूमिका निर्वाह गर्छ भन्ने प्रतिबद्धता हामीले जनाएका छौँ।

हामीले रास्वपा सभापतिमार्फत सरकारलाई एउटा प्रश्न पनि राखेका छौँ। यतिखेर सरकार के गर्दै छ ? सरकार कहाँ छ ? सरकार केवल बन्दुकको गोली र लाठीमा मात्र भेटिनु हुँदैन र यथास्थितिमा मात्र सीमित रहनु हुँदैन। सरकार भनेको अभिभावक मात्र होइन, नेतृत्व (लिडर) पनि हो। नेतृत्वको सबैभन्दा ठूलो खुबी भनेको सहकार्य गर्न सक्नु हो। उसले अरूलाई विश्वास गर्न सक्नुपर्छ, अनि मात्र अरूले पनि उसलाई विश्वास गर्छन्। यस्तो बेलामा प्रधानमन्त्रीले तत्कालै सर्वदलीय बैठक बोलाउनुपर्ने, राष्ट्रपतिसँग भेट्नुपर्ने र प्रदेश तथा स्थानीय सरकारहरूसँग संवाद गर्नुपर्ने हाम्रो अपेक्षा थियो। साथै, आफूले गरेका प्रयासहरूबारे तत्काल जानकारी गराउँदै सबैको साझा प्रयासका निम्ति एउटा आधार निर्माण गर्नुपर्ने हो।

बैठकमा हामीले भूकम्प र कोभिड महामारीको समयलाई पनि स्मरण गर्‍यौँ। त्यतिबेला पनि दलहरूबीच व्यापक राजनीतिक तनाव थियो। तर, तत्कालीन प्रधानमन्त्री वा पूर्वप्रधानमन्त्रीहरूले बोलाउँदा हामी सबै कुरा छोडेर दौडिँदै सिंहदरबार पुगेका थियौँ। हिजो सुशील कोइराला प्रधानमन्त्री हुँदा, भूकम्पको बेला पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सबै राजनीतिक विद्वेष र तिक्तता बिर्सेर दौडिँदै आउनुभएको थियो। त्यो नेपालका राजनीतिक दलहरूको मूल चरित्र हो। नेपालका सबैजसो प्रधानमन्त्रीले देशलाई अप्ठ्यारो परेको बेला यस्तो गर्दै आउनुभएको इतिहास छ।

सुनसरी घटनाको छानबिनका निम्ति भोलि हामी संसद्‌मा आवाज उठाउने नै छौँ। कसैलाई दोष दिएर मात्र उन्मुक्ति पाइँदैन। यो राज्यको एक प्रकारको असफलताको निरन्तरता पनि हो। खासगरी मधेसमा कुनै घटना हुँदा अतिरिक्त बल प्रयोग गर्ने जुन राज्यको मानसिकता छ, त्यसले यसपटक पनि निरन्तरता पायो। यस्तो किन भइरहेको छ र यसको कारण के हो ? कुनै प्रहरी वा सुरक्षाकर्मीलाई मात्र दोष दिएर हुँदैन। राज्य सञ्चालन गर्नेहरू हिजो दोषी थिए भने आज पनि दोषी छन्। तर, यसबारे उपयुक्त समयमा छलफल गरौँला। अहिल्यै हामी सरकारलाई अप्ठ्यारोमा पार्न चाहँदैनौँ। हाम्रो जिम्मेवारीअनुसार यो बेलामा हामी सरकारसँग मिलेरै काम गर्न चाहन्छौँ।

तर मैले अघि पनि भनेँ, यस्तो संवेदनशील बेलामा पनि प्रधानमन्त्रीले भाउ खाएर वा ठालु पल्टेर बस्न मिल्छ ? यो बेलामा सबैसमक्ष पुग्ने र सबैलाई जोड्ने प्रयास गर्नुपर्दैन ? सबैलाई समेटेर अघि बढ्नुपर्छ भन्ने हाम्रो मान्यता हो। प्रधानमन्त्रीले यस्तो पहल गर्नुपर्छ भन्ने हाम्रो चाहना र माग छ। त्यसैले, रास्वपा सभापति र बैठकमा उपस्थित माननीय उपप्रधानमन्त्रीमार्फत हाम्रो यो कुरा सरकारसमक्ष पुर्‍याइदिन आग्रह गरेका छौँ। यो एउटा पक्ष भयो। तर फेरि पनि अन्त्यमा, नेपाली कांग्रेसको तर्फबाट यो बेलामा सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न हामी आफ्नो भूमिका निर्वाह गर्छौँ र अरू दलहरूसँग मिलेर अघि बढ्छौँ भन्ने कुरा स्पष्ट राखेका छौँ।

हाम्रो पार्टीका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ। उहाँको पार्थिव शरीर आज बिहान ९ बजेबाट पार्टी कार्यालयमा राखिनेछ र त्यसअघि पार्टीको बैठक बस्नुपर्नेछ। त्यसैकारण मैले आफ्ना कुराहरू राखेर बैठकबाट निस्किएको हुँ। नेपाली कांग्रेसको तर्फबाट माननीय विश्वप्रकाश शर्माजी भित्रै हुनुहुन्छ र थप छलफल चलिरहेको छ। बैठक भर्खर सुरु भएकाले मैले आफ्नो धारणा मात्र राखेर निस्किएको हुँ।

बैठकको सुरुमा रास्वपा सभापतिले यस्ता घटना हुँदा सबै दलहरूको साझा धारणा बन्नुपर्छ भन्ने सोचका साथ बैठक आह्वान गरिएको बताउनुभयो। हिजो साँझ अबेर मात्र खबर गरिएको भए पनि वर्तमान घटना, अवस्था र साझा रूपमा काम गर्नुपर्ने आवश्यकताको महत्त्वलाई बुझेर सबै दलका प्रतिनिधिहरू आइदिनुभएकोमा उहाँले धन्यवाद दिनुभयो। बैठक भर्खर सुरु भएको छ, अरू विषयमा छलफल भइरहेको छ।