काठमाडौं-प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले विद्यमान कानुनी व्यवस्थाअनुसार स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक सम्पन्न गर्न नसकिने बताएका छन्।
सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै कार्कीले हालको कानुनी संरचनाले दुई तहको निर्वाचन एकै समयमा गर्न अनुमति नदिने स्पष्ट पारे।
उनले राज्यले स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गराउने नीति अघि बढाउन चाहे त्यसका लागि आवश्यक कानुनी संशोधन गर्नुपर्ने बताए। ‘अहिलेको कानुनअनुसार स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकै पटक गर्न सकिन्न। यदि राज्यले एकै पटक गर्ने नीति लिने हो भने त्यसका लागि कानुन संशोधन अनिवार्य छ,’ कार्कीले भने।
कार्कीको भनाइले आगामी निर्वाचन व्यवस्थापन तथा निर्वाचनसम्बन्धी कानुनी सुधारको विषय पुनः चर्चामा आएको छ। निर्वाचन खर्च घटाउने, जनशक्ति व्यवस्थापन सहज बनाउने तथा निर्वाचन प्रक्रियालाई प्रभावकारी बनाउने उद्देश्यले विभिन्न तहका निर्वाचन एकैपटक गराउने विषय समय–समयमा उठ्दै आएको छ।
संसदीय सुनुवाइ समितिमा कार्कीले निर्वाचन आयोगको स्वायत्तता, निष्पक्षता र विश्वसनीयता कायम राख्दै कानुनबमोजिम निर्वाचन सञ्चालन गर्न आफू प्रतिबद्ध रहेको पनि बताएका छन्।


प्रतिक्रिया